पाकिस्तानमा सरकारी कार्यालय पाँच दिन खुल्ने

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, ०८ : २१
पाकिस्तानमा सरकारी कार्यालय पाँच दिन खुल्ने

एजेन्सी । पाकिस्तानले आफ्नो सरकारी कार्य हप्तामा ६ बाट घटाएर पाँच दिन पुर्‍याउने भएको छ । ऊर्जा र इन्धन खपत कम गर्न सरकारले पछिल्लो योजना ल्याएको हो । योजनालाई मंगलबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । 

गठबन्धन सरकारको मन्त्रिपरिषद्ले ल्याएको योजनामा इन्धन र ऊर्जाको प्रयोग घटाउनका लागि विभिन्न मितव्ययी उपाय समावेश छन् । पछिल्लो समयमा पाकिस्तानमा उर्जा संकट चर्किएको छ ।

लोडसेडिङको समय र इन्धनको मूल्यमा बृद्धि हुँदा अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ । गर्मी महिनामा बढ्दो मागको सामना गर्न देशको उर्जा उत्पादन घाटामा छ । 

‘हामीले गम्भीर संकट सामना गरेका छौँ । ऊर्जा संरक्षणका उपायहरू अपनाउनु आवश्यक छ । हामीले ऊर्जा बचत गर्न हरेक विकल्पमा जान आवश्यक छ’, सूचना मन्त्री मरियम औरंगजेबले मंगलबार एक पत्रकार सम्मेलनमा भने । मानिसहरूलाई शुक्रबार घरबाट काम गर्न दिने र इन्धन भण्डारमा बोझ कम गर्न व्यावसायिक बजारहरू बन्द गर्ने बारेमा पनि अध्ययन भइरहेको छ । 

एक सातामा पेट्रोलको मूल्य ४० प्रतिशतले बढेपछि देशमा आक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्ले सरकारी कर्मचारी र मन्त्रिपरिषद्का सदस्यलाई दिइने पेट्रोल भत्ता ४० प्रतिशतले घटाउने निर्णयसमेत गरेको छ ।

मन्त्रिपरिषद्ले सरकारी अधिकारी र मन्त्रीहरूको अनावश्यक विदेश भ्रमणमा पूर्णप्रतिबन्धलाई पनि अनुमोदन गरेको छ । 
‘सम्बन्धित समितिले अनुमति दिएपछि मात्र अनिवार्य भ्रमण र महत्वपूर्ण द्विपक्षीय भ्रमणलाई अनुमति दिइनेछ’, सूचनामन्त्रीले औरंगजेबले भने । 

प्रतिक्रिया दिनुहोस