नेपालमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको छ : विप्लव

सफल खबर संवाददाता

शुक्रबार, २० जेठ २०७९, १५ : ०३
नेपालमा साम्राज्यवादी हस्तक्षेप बढिरहेको छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको बताएका छन् । उनले दलाल पुँजीवादी व्यवस्थाका कारण नेपाल नवउपनिवेशमा फस्ने क्रममा रहेको दाबी गरे ।

‘नेपालमा साम्राज्यवादी हस्तक्षेप तीव्र वेगमा बढिरहेको छ, पछिल्लो समय गम्भीर खालका घटनाहरू घटिरहेका छन् । यो सबै दलाल पुँजीवादको आत्मसमर्पणवादी चरित्रले गर्दा भएको हो । त्यसै कारण नेपाल एउटा नवउपनिवेशमा जाँदै गरेको देखिन्छ,’ उनले भने, ‘अस्ति भर्खरै एमसीसी भयो, अहिले एमसीसीको कार्यालयमा अमेरिकी कर्मचारी ओइरिँदै गरेको खबर छ । अमेरिकी सहायक विदेशमन्त्री आएर खुलेआम तिब्बती शरणार्थी शिविरमा भ्रमण गर्ने र छिमेकी देशहरूको विरुद्धमा उचाल्ने खेल चलेको छ ।’

पार्टीको केन्द्रीय समितिको १३ औँ बैठकका निर्णयहरू सार्वजनिक गर्दै महासचिव चन्दले राष्ट्रिय स्वाधीनताको आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘कुनै पनि विदेशी भूमण्डलीकृत साम्राज्यवादी तत्वद्वारा हाम्रो देशमा लादिने असमान सन्धि, सम्झौता र उनीहरुका हस्तक्षेपकारी क्रियाकलापलाई ठाडै अस्वीकार गरेर प्रतिरोधमा उत्रिनुपर्छ, हाम्रो केन्द्रीय समितिमा यसबारे छलफल भएको छ,’ उनले भने ।

उनले राष्ट्रिय स्वाधीनताको पक्षमा देशैभरि जागरण ल्याउनुपर्ने पनि बताएका छन् । स्थानीय तहको निर्वाचनमा भाग लिने कि नलिने भन्ने विषयले पार्टीमा भएको मतभेदले पार्टी विभाजनसम्म पुगेको स्मरण गर्दै महासचिव चन्दले आफूहरूले चुनावलाई क्रान्तिको एउटा अंगको रुपमा उपयोग गरेको बताए । उनले कम्युनिस्ट आन्दोलनमा रहेका, तर पार्टीबाट अलग भएकाहरुलाई समेत पार्टीमा एकढिक्का हुन आव्हान गरेका थिए ।