गुजरातले जित्यो आईपीएलको उपाधि

सफल खबर संवाददाता

सोमबार, १६ जेठ २०७९, ११ : ३७
गुजरातले जित्यो आईपीएलको उपाधि

काठमाडौं । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात च्याम्पियन बनेको हो ।

गुजरातले पहिलो सहभागितामै उपाधि जितेको हो । गुजरातले यसै सिजनबाट आईपीएल खेल्न थालेको हो । अहमदाबादमा राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

गुजरातको जितमा सुबमन गिलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । कप्तान हार्दिक पान्डय ३४ रनमा आउट भए भने डेभिड मिलर ३२ रनमा अविजित रहे । म्याथ्यु वेड ८ र रिद्धिमान शाह ५ रनमा आउट भए ।

राजस्थानका ट्रेन्ट बोल्ड, प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले १/१ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो । राजस्थानका लागि जोश बट्लरले सर्वाधिक ३९ रन जोडे ।

याशभी जैसवालले २२ रन जोड्दा रियान परागले १५ रन जोडे । कप्तान सन्जु सामसन १४ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस