स्थानीय तह निर्वाचन

चितवनमा ८१ महिला मतदान अधिकृत

रासस

बुधबार, २८ बैशाख २०७९, १४ : ५३
चितवनमा ८१ महिला मतदान अधिकृत

चितवन । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् ।

यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान केन्द्रमा रहेका कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलले जानकारी दिए । यस मतदानस्थलमा तीन हजार ३४२  मतदाता  छन् । उनका अनुसार ४५१ केन्द्रमध्ये ८१ केन्द्रमा महिला अधिकृत खटिएका हुन । महिलाले पनि जिम्मेवारी पाउनुपर्छ भन्ने उद्देश्यका साथ उनिहरुलाइ जिम्मेवारी दिइएको उनले बताए ।  

जिल्लामा रहेका दुई मतदान केन्द्रमा ५०० भन्दा कम मतदाता छन् । इच्छाकामना गाउँपालिकाका दुई केन्द्रमा ५०० भन्दा कम मतदाता  हुन् । ती मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटिएको र अन्य केन्द्रहरुमा पाँच जनाका दरले कर्मचारी खटिएको उनले जानकारी दिए। उनका अनुसार मतदान अधिकृतले मतदानस्थलमा तीनजना स्वयम्सेवक कर्मचारी नियुक्ति गरी आजदेखि निर्वाचनको काम सुरु गरेका छन् ।

निर्वाचनको कामअन्तर्गत आज मतदानस्थलभन्दा तीन सय मिटर वरिपरिको क्षेत्रलाई चार किल्ला प्रमाणीत गर्ने, सर्बदलिय बैठक राख्ने, मतदाता परिचयपत्र वितरण गर्ने, निर्वाचन शिक्षा दिने लगायतका कामहरु भइरहेको उनले बताए । जिल्लाभर तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् । जसमध्ये दुई लाख चार हजार ६६६ महिला, एक लाख ९३ हजार १८ पुरुष र एकजना तेस्रो लिङ्गी  छन् । 

कूल मतदातामध्ये भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता  छन् ।