जग्गा कारोबार झण्डै आधा घट्यो

पत्रपत्रिकाबाट

सोमबार, १९ बैशाख २०७९, ०७ : ४३
जग्गा कारोबार झण्डै आधा घट्यो

काठमाडौं । पछिल्लो २ महिना यता जग्गा कारोबार निरन्तर घट्दै गएको भूमि व्यवस्थापन विभागले जनाएको छ। विभागका अनुसार अहिले जग्गाको कारोबार २ महिना अघिको तुलनामा झण्डै आधा घटेको छ।

‘फागुुनरचैत महिना यता जग्गाको कारोबार घट्दै गएको छ। यो अवस्था पछिल्लो हप्ता झण्डै आधा घटेको छ’ विभागका महानिर्देशक पिताम्बर घिमिरेले भने– ‘जग्गाको कारोबारका लागि वाणिज्य बैंकहरूले ऋण प्रवाह गर्न कठिनाइ गरेपछि यो अवस्था आएको हुन सक्छ।’ विभागका अनुसार गत बिहीबार देशभर ५ हजार ७ सय ५२ कारोबार भएको थियो। यसैगरी वुधबार ५ हजार ६ सय ९५ र मंगलबार ५ हजार २ सय २४ वटा कारोबार भएको थियो। फागुनरचैत महिनाअघि एक दिनमा ८ देखि १० हजार वटासम्म जग्गा कारोबार हुने गरेको घिमिरेले बताए।  

विभागको मातहतमा देशभर १ सय २६ वटा मालपोत कार्यालयमा जग्गा प्रशासनसम्बन्धी काम हुन्छ। देशभरका सबै मालपोत कार्यालयहरूले अनलाइन सेवा सुरु गरेका छन्। सबै मालपोत कार्यालयहरूले अनलाइन सेवा सुरु गरेकाले देशभर एक दिनमा कति कारोबार भयो, र यसबाट कति राजस्व उठ्यो यसको सबै डाटा केन्द्रमा आउने गरेको छ।

विभागका अनुसार देशभर कारोबार भएका सबै डाटा केन्द्रलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। जग्गा कारोबारबाट बिहीबार २१ करोड १९ लाख ७४ हजार रूपैयाँ राजस्व उठेको थियो। यसैगरी बुधबार २५ करोड २१ लाख ८७ हजार तथा मंगलबार १३ करोड ६० लाख ९३ हजार रूपैयाँ राजस्व उठेको विभागले जनाएको छ। विभागका अनुसार फागुनरचैत महिना अघि एक दिनमा ४५ देखि ५० करोड रूपैयाँसम्म राजस्व उठ्ने गरेको थियो। जग्गाको कारोबार घट्दै जानुमा देशमा आर्थिक मन्दिको संकेत देखिएको विज्ञहरू बताउँछन्। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस