त्रिविको जग्गामा अठार संस्थाको रजाइँ

पत्रपत्रिकाबाट

सोमबार, २७ असोज २०८२, ०७ : ५४
त्रिविको जग्गामा अठार संस्थाको रजाइँ

काठमाडौ । मुलुककै सबैभन्दा ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालयको चल तथा अचल सम्पत्ति लथालिङ्ग रहेको सरकारी प्रतिवेदनले औँल्याएको छ । आफ्नो नाममा कति जग्गा र भौतिक संरचना छन् भन्ने विषयमा समेत त्रिवि अनभिज्ञ रहेको त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले प्रस्ट पारेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । यसअघि मन्त्रीपरिषद्को बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गर्दै मन्त्रालयलाई सार्वजनिक गर्न निर्देशन दिएको थियो । प्रतिवेदन अनुसार त्रिविको नाममा रहेको जग्गामा निजीदेखि धार्मिक प्रकृतिका १८ वटा संस्थाले रजाइँ गरिरहेको प्रतिवेदनमा औँल्याइएको छ । 

विश्वविद्यालयकै पदाधिकारी र कर्मचारीको मिलेमतोमा यी जग्गा विभिन्न स्वार्थ जोडिएका संस्थाले आफूखुसी भोगचलन गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्रिविको स्वामित्वमा पाँच हजार २१८ रोपनी जग्गा रहेको प्रतिवेदनमा जनाइएको छ । 

जसमध्ये नैकापमा रहेको १२५ रोपनी जग्गाको स्रेस्ता कायम हुन बाँकी रहेको छ । तीमध्ये लामो समयदेखि ८४३ रोपनी जग्गा विभिन्न सरकारी निकाय र गैरसरकारी संस्थाले भोगचलन गर्दै आएका छन् । केही जग्गा भने विश्वविद्यालयको स्वीकृतिबिना नै भोगचलन भइरहेको पनि समितिले औँल्याएको छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस