एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : माधव नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १५ : ३५
एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधि निर्वाचित भइसके : माधव नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट ३५ जना जनप्रतिनिधि निर्विरोध निर्वाचित भइसकेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना नेपालको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताकै क्रममा एकीकृत समाजवादीबाट ३५ जना जनप्रतिनिधिको एकल उम्मेदवारी परेको बताएका हुन् ।

उनले एकल उम्मेदवारी परेसँगै पार्टीको तर्फबाट २ जना गाउँपालिका अध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष, ६ जना वडाअध्यक्ष र २६ जना सदस्यहरु निर्विरोध निर्वाचित भएका उल्लेख गरे ।

उनले भने, ‘यो चुनावको निम्ति मनोनयन दर्ताको समयमा निर्विरोध रुपमा मनोनयन दर्ता भएका केही व्यक्तिहरु मध्ये हाम्रो पार्टीसँग जोडिएका, नेकपा (एकीकृत समाजवादी)सँग जोडिएका, २ जना गाउँपालिकाका अध्यक्षहरु निर्विरोध निर्वाचित भए । १ जना उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । ६ जना वडाध्यक्ष निर्विरोध निर्वाचित हुनुभयो । २६ जना सदस्यहरु निर्विरोध निर्वाचित हुनुभयो । झण्डै ३५ जना व्यक्तिहरुले विजय हासिल गरेर हाम्रो पार्टीको झण्डालाई, हामीले अघि सारेको कलम चिन्ह त्यो बोक्ने पार्टी नेकपा(एकीकृत समाजवादी)को विजयको झण्डा फहराउँदै उहाँहरु अगाडि बढ्नुभयो । प्रतिस्पर्धा गर्न कसैले आँट गरेन उहाँहरुसँग ।’

त्यस्तै उनले गठबन्धनमा आवद्ध दलहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताए । उनले गठबन्धनभित्रका दलले अहंकार राख्नु नहुने र वस्तुनिष्ठ भएर चल्नुपर्ने बताए । स्थानीय तह निर्वाचनको उम्मेदवारीमा कतिपय ठाउँमा तलमाथि भएको सन्दर्भमा गठबन्धनभित्र समीक्षा हुने पनि अध्यक्ष नेपालले बताए ।

उनले भने, ‘उम्मेदवारीको बारेमा तलमाथि भएको होला कतिपय ठाउँहरुमा । हाम्रा दुखेसाहरु होलान् । आलोचना पनि होलान हाम्रा गठबन्धनका अन्य पार्टीहरुप्रति । त्यो आफ्नो ठाउँमा हामी विवेचना गरौँला । त्यस्तो गर्न हुँदैन पनि भनाँैला । अहंकार नराख्नुपर्ने हो पनि भनौँला । वस्तुनिष्ठ भएर चल्नुपर्दछ भन्ने हामी पनि भनौँला । अरुले पनि भन्लान ।’

उनले थपे, ‘प्रत्येक व्यक्तिले आफूलाई केन्द्रविन्दूमा राखेर नै परिस्थितिको विश्लेषण र मूल्याङ्कन गरेका थिए, छन् भन्ने पनि होला । त्यसको हामी समीक्षा गर्दै जाउँला । तर हामी खासगरीकन के चाहान्छौँ भने म होइन हामी भन्ने भावनाका साथ, आफू होइन हाम्रो ध्येय, उद्देश्यलाई हासिल गर्ने काममा सफलता पाउने सोचका साथ अगाडी बढ्न सक्नुपर्छ । तब न हामी कम्युनिष्ट भन्नेकुराको अर्थ छ ।’

उनले एकीकृत समाजवादी पार्टी २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीकै निरन्तरता भएकाले जनतामा परीक्षण भइसकेको पार्टी भएको बताए । अध्यक्ष नेपालले पार्टीको संगठनलाई टोल–टोलसम्म विस्तार गर्न पनि नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस