प्रमोसनमा नहिँडेको भन्दै प्रियंका, दीपिका र विल्सनसँग निर्देशक रुष्ट

सफल खबर संवाददाता

बुधबार, ०९ चैत्र २०७८, १४ : ४३
प्रमोसनमा नहिँडेको भन्दै प्रियंका, दीपिका र विल्सनसँग निर्देशक रुष्ट

दुई वर्षअघि नै निर्माण सम्पन्न भएको नेपाली फिल्म 'हेल्लो जिन्दगी' चैत १८ देखि प्रदर्शनमा आउँदैछ। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको दुईवटा गीत सार्वजनिक गरियो। 

फिल्मको प्रदर्शन मिति नजिक आइसक्दा गरिएको पत्रकार सम्मेलनमा फिल्मका निर्माता, निर्देशक त सामेल थिए। तर, यसका मुख्य कलाकारको उपस्थिति भने देखिएन। फिल्ममा केन्द्रीय पात्रको भूमिकामा देखिएका अभिनेता बिक्रम डि जोशी त कार्यक्रममा उपस्थित थिए, जो फिल्मका निर्माता पनि हुन्। तर, प्रियंका कार्की, दीपिका प्रसाईं, विल्सन विक्रम राई लगायतका कलाकार भने कार्यक्रममा देखिएनन्। 

फिल्मको महत्त्वपूर्ण कार्यक्रमा कलाकार उपस्थित नभएपछि यसका लेखक, निर्देशक, निर्माता तथा कलाकारसमेत रहेका एभरेष्ट सूर्य बोहराले असन्तुष्टि व्यक्त गरेका छन्। उनले प्रियंका, दीपिका र विल्सनको नाम नै खुलाएर उनीहरूले आफ्नो चित्त दुखाएको बताएका हुन्। 

कलाकारको चलेको रेटभन्दा बढी पारिश्रमिक दिएको जनाउँदै उनले भने, 'म मेरो कलाकार, टेक्निसियनलाई दिल खोलेरै माया गरेको हो। उहाँहरूको समस्यामा सहभागी भएको हो। तर, उहाँहरू हाम्रो कार्यक्रममा सहभागी हुन मान्नु भएन।' 'पैसा लिन सबैभन्दा अगाडि आउनुहुन्छ। पैसा नलिई सास पनि फेर्न मान्नुहुन्न। तर, पैसा लिइसकेपछि अनुहार पनि देखाउन मान्नुहुन्न।' कलाकार फिल्मको प्रमोसनमा नखटिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भने, 'यस्तै किसिमका कलाकारले गर्दा नेपाली सिनेमालाई दुर्गतिको बाटोतिर धकेल्ने काम भइरहेको छ। पूरा पैसा लिएपछि तपाईंहरू पूरा काम किन गर्नुहुन्न?'

पारिश्रमिकको रुपमा ठूलो रकम दिए पनि प्रमोसनमा हिँड्नको लागि छुट्टै सम्झौता भने नभएको उनले बताए। यसपछिका काममा त्यो कुरा ध्यान दिने बताउँदै उनले भने, 'सिनेमा भनेको सबैको प्रोडक्ट हो। त्यसलाई प्रमोसन गर्न सबैजना आउनुपर्ने हो। आफ्नो आफ्नो बुद्धी आफ्नो आफ्नो विवेकेको कुरा होला सायद।'  

प्रतिक्रिया दिनुहोस