काठमाडौं । मधेस प्रदेशको राजधानी जनकपुरमा रहेको आयुर्वेद औषधालयहरूमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ। आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउनेको संख्या बढेको हो।
विगतभन्दा अहिले आयुर्वेदतर्फ सर्वसाधारणको रुची बढन थालेको छ। जनकपुर आयुर्वेद औषधालयमा पाँच वर्षअगाडिसम्म दैनिक १०–२० जना बिरामी उपचारका लागि आउने गर्थे। तर, पछिल्लो समय दैनिक २०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको छ ।
औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै छ। विशेष गरेर हड्डी दुखाइका बिरामीहरू अत्याधिक आउने गरेका चिकित्सकहरू बताउँछन्।कतिपय व्यक्तिहरू भने अन्य उपचार गराएर रोक निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन्। निको भएपछि गाउँगाउँमा प्रचार गरिएकाले समेत अस्पतालमा बिरामीहरु धरै हुने गरेको अस्पतालका कर्मचारीहरु बताउँछन्। घरेलु रुपमा आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरू पनि आजभोलि औषधालय आइपुग्ने गरेका छन्।
नागरिकहरुमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो। तर पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ।स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन नसकेको औषधालयको गुनासो छ। प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्त बनाउन सकिने अस्पतालका प्रमुख डा. सीमा झाले बताइन्। उनले अस्पतालको स्तर वृद्धि गरेर प्रादेशिक अस्पतालको रुपमा नै जानुपर्ने आवश्यकता रहेको बताइन्।
औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले बताउँदै आएको छ। आयुर्वेद पूर्वीय चिकित्सा पद्धति हो। तर, आयुर्वेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्ने गरेको छ। औषधालयले उत्पादन गरेको आयुर क्वाथ, गुर्जो, जेष्ठवासादी, याष्टीमधु मिश्रण, अश्वगन्धा, गुडुची अमालाकी चुर्णलगायतका संक्रमणबाट बच्न र रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ चैत्र २०७८, १३ : ५८
लेखकबाट थप