स्थानीय निर्वाचनामा होमियो माओवादी केन्द्र, आक्रामक चुनाव प्रचार गर्दै

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, ०८ : ४६
स्थानीय निर्वाचनामा होमियो माओवादी केन्द्र, आक्रामक चुनाव प्रचार गर्दै

काठमाडौँ । तुलनात्मक रूपमा स्थानीय सरकारमा माओवादीका तर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुखको काम प्रभावकारी देखिएको छ । केही दिन पहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अध्ययनमा समेत देशभर माओवादी केन्द्रका तर्फबाट निर्वाचित प्रतिनिधिहरूको काम प्रभावकारी देखिएको विवरण सार्वजनिक भएको छ ।

विशेषगरी एमालेका तर्फबाट निर्वाचित भएका प्रमुख तथा उपप्रमुखहरूको कार्यशैली गतिलो नभएको पाइएको छ । उनीहरू भ्रष्टाचारमा लिप्त भएको तथा व्यक्तिगत काममा मात्रै केन्द्रित भएको पाइएको छ । देशभर झण्डै ४० प्रतिशत स्थानमा निर्वाचन जितेको भनिएको एमाले र काँग्रेसका उम्मेदवारले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको स्वयं सरकारी प्रतिवेदनमा नै देखिएको छ । 

सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा भएपछि विभिन्न राजनीतिक दलले आआफ्ना तरिकाले निर्वाचनको कार्यक्रम तय गरेका छन् । अब राजनीतिक रूपमा नै उनीहरू चुनावी प्रक्रियामा अगाडि बढेका छन् । हालै मात्र सबैभन्दा विवादित मानिएको अमेरिकी सहयोग परियोजना एमसीसीलाई व्याख्यात्मक घोषणासहित एउटा निष्कर्षमा पु¥याएको सत्तारुढ गठबन्धन नै चुनावी प्रक्रियामा होमिएको छ । 
एमाले पनि देशभरका अन्य पार्टीमा रहेका लोभीपापीलाई पैसाको धाकधम्की देखाउँदै पार्टी प्रवेशको बहाना बनाउँदै निर्वाचनमा होमिएको छ । विगतमा जनमतलाई दुरुपयोग गरेको, संविधान मिचेको, कानुन मिचेको तथा हुनेनहुने सबै हर्कत गरेको एमालेलाई नेपाली जनताले अब कुन आधारमा किन भोट दिने भन्ने प्रश्न सबैभन्दा अहं र गम्भीर बनेको छ । 

स्थानीय सरकारमा रहेर जति स्थानमा जितेको थियो, त्यसमा सबैभन्दा राम्रो काम गरेको नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने निर्णय गरेको छ ।

त्यसका लागि माओवादीले प्रदेश इन्चार्जहरू तोकेको छ भने सोही इन्चार्ज मातहत रहने गरी सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य सम्मिलित समितिले प्रदेशका जिल्लाहरूलाई समेटेर चुनावी कमान्डहरू बनाउनेछ । सो कमान्डले पुनः स्थानीय तहसम्म सहायक कमान्डहरू बनाएर चुनावमा होमिने गरी पार्टीले निर्णय गरेको छ ।

 चुनावका लागि माओवादीले विभिन्न ८ वटा योजना बनाएर दुई महिने अभियान चलाउने निर्णय गरेको छ । त्यसका लागि ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नारा तय गरिएको बैठकमा प्रचण्डले जानकारी दिएका थिए । दुई महिनाको अवधिमा भेला, प्रशिक्षण, सङ्गठन विस्तार, सदस्यता वितरण लगायतका अभियान चलाउने माओवादीले निर्णय गरेको छ ।

माओवादीले त्यसका लागि २१औँ शताब्दीको समाजवादको नेपालीकरण र समृद्धिको कार्यक्रम अनुरूप पालिका स्तरमा घोषणापत्र बनाउने छ । तोकिएको मापदण्डका आधारमा उम्मेदवारको सूची बनाउने भएको छ । स्थानीय सरकार कसरी चलाउने, समाजवादको आधार र लक्ष्य कस्तो हुने बारेमा माओवादीले स्पष्ट पार्ने नीति तय गरेको छ । 

ओलीले भत्काएको संविधान जोगाउन माओवादीले गरेको पहल तथा गठबन्धन बनाएर राष्ट्रिय समस्या समाधानमा खेलेको भूमिकालाई नेपाली जनताले नजिकबाट नियालेका छन् । माओवादीका कारण विवादास्पद एमसीसी सम्झौतामा समेत व्याख्यात्मक घोषणा गराउन सफलता मिलेको छ । माओवादीकै कारण राष्ट्रघात हुनबाट जोगिएको छ । 

स्थानीय निर्वाचनमा सकेसम्म गठबन्धन कायम राख्ने योजना र लक्ष्य पनि राखिएको छ । त्यसो भएको खण्डमा एमालेले देशभर जित्ने स्थान असाध्यै कम हुनेछ । त्यसो भएको खण्डमा ओलीलाई पत्तासाफ गराउन पनि सकिनेछ । तराई मधेसमा व्यापक उपस्थिति जनाएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलगायतका दलहरूसँग माओवादीले साझा मोर्चा तय गर्ने छ । 

त्यसका लागि माओवादी छाडेर नयाँ शक्तिको नाममा विदेशी एजेन्डा बोकेर हिँडेको आरोप लागेका डा. बाबुराम भट्टराई बाधक बन्न सक्ने सम्भावना पनि उत्तिकै छ । किनभने बाबुरामको एक मात्र लक्ष्य र उद्देश्य भनेको माओवादी सिध्याउने नै छ । उनी कसरी विगतमा माओवादी आन्दोलनमा लागे र जोडिए भन्ने प्रश्न यतिबेला नेपाली जनताले खोजिरहेको अवस्था छ ।

जसरी पनि माओवादी नेतृत्वलाई खुइल्याउने, जसरी पनि बदनाम गर्ने, जसरी पनि प्रतिक्रियावादी र विदेशी दलाल शक्तिको पक्षमा उभिने बाबुरामको चरित्रका कारण उनको हैसियत नै एउटा सामान्य कार्यकर्ताभन्दा माथि उठन सकेको छैन । पछिल्ला दिनमा उनले देखाएको व्यवहार असाध्यै पश्चगामी तथा अराजक देखिएको छ ।  माओवादीलाई सिध्याउने र आफ्नो हर्कतलाई जोगाउन उनी लागिपरेका छन् । माओवादीको शीर्ष नेतृत्वलाई गाली नगर्दासम्म उनलाई खाएको समेत नपच्ने जस्तो अवस्था सिर्जना भएको छ । उनले एमसीसीका सन्दर्भमा देखाएको हर्कत पनि ओलीको भन्दा फरक देखिँदैन । 

एमसीसीमा जसरी ओलीले हर्कत देखाए, जसरी ओली र उनको समूहले नेपाली राजनीतिलाई विद्रुप बनाए, यसको तथ्य कोहीकसैले भुलेका छैनन् । माओवादीले स्थानीय निर्वाचनलाई प्रभावकारी बनाउन सङ्गठन सुदृढीकरण र विस्तारसम्बन्धी कार्ययोजना बनाउने भएको छ । त्यस्तै सबै तहका कमिटीलाई पूर्णता दिने, स्थानीय तहमा आवश्यक विभागहरू गठन गर्ने, घरघरमा सदस्य, टोल टोलमा सदस्यता अभियान चलाउने भएको छ । त्यस्तै राजनीतिक प्रशिक्षण चलाउने, स्वयंसेवकहरूलाई गाउँ टोलमा खटाउने छ भने प्रभावकारी प्रचार संयन्त्र बनाउने भएको छ ।

त्यस्तै नगर गाउँपालिकामा प्रचार शाखा बनाउने भएको छ । सामाजिक सञ्जालमा प्रचार समूह बनाउने, व्यापक प्रचार प्रसार गर्ने तथा केन्द्रमा पनि आईटी टिम बनाउने भएको छ ।  अध्ययन, संश्लेषण तथा विश्लेषणसम्बन्धी कार्यक्रम बनाउने भएको छ । यस्तै आर्थिक सामाजिक र राजनीतिक अवस्थाको रिपोर्ट बनाउन आवश्यक रणनीति बनाउने नीति तय गरेको छ । त्यस्तै राजनीतिक तथा प्रशासनिक समन्वय गर्नेछ । चुनावबारे अन्य पार्टीसँग समन्वय गर्ने, अभियान टोली र पालिकासँग समन्वय गर्ने एवं सांस्कृतिक टोलीको समय तालिका बनाउने तयारी गरेको छ । 

स्थानीय सांस्कृतिक विषयलाई महत्त्व दिँदै माओवादीले स्थानीय कलाकारलाई सहभागी गराउने, चुनावी प्रचारमा कलाकारलाई सहभागी गराउने नीति तय गरेको छ । यस्तै गठबन्धनका घटकहरूसँग चुनावी तालमेल गर्न वार्ता र संवादको थालनी गर्ने भएको छ ।  यस्तै माओवादीले केन्द्रीय समितिको बैठकबाट विभिन्न चुनावी नारा पनि तय गरेको छ; जसअनुसार प्रमुख चुनावी नारा तय गरेको छ । गाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँ भन्ने प्रमुख नारा तय गरेको छ । माओवादीको नीति र नेतृत्व सङ्घीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व गराउने भएको छ ।

नेपाली जनक्रान्तिको अमूल्य उपहार, सङ्घ प्रदेश र स्थानीय जनसरकार भन्ने तय गरेको छ । माओवादीले सबैखाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तिको उपलब्धिको रक्षा र विस्तार गरौँ भन्ने अर्को महत्त्वपूर्ण नारा तय गरेको छ । श्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि, विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ भन्ने नारालाई पनि जोड दिइएको छ । 

आगामी निर्वाचनका लागि पार्टीको पक्षमा माहोल बनाउन माओवादी केन्द्रले विभिन्न जिल्लालाई समेटेर कमान्ड बनाएको छ । प्रदेशगत रूपमा इन्चार्ज तोकेर सो प्रदेशभित्रका केन्द्रीय समिति सदस्यको एक समिति बनाउँदै माओवादीले ती प्रदेशभित्रका जिल्लाहरूको पनि समूह विभाजन गरेर कमान्ड बनाउँदै पार्टी गतिविधि चुस्त बनाउन सो निर्णय गरेको हो । 

हालै सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले इन्चार्ज पनि तोकेको छ; जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेल चयन भएका छन् । 

प्रदेश इन्चार्जले प्रदेशभित्रका पार्टी केन्द्रीय समिति सदस्यहरूको बैठक राखेर ती प्रदेशभित्रका जिल्लाहरूलाई विभिन्न समूहमा विभाजन गरेर कमान्ड बनाउनेछन् भने ती कमान्डले फेरि तल्लो तहसम्म अर्को कमान्ड बनाएर चुनावी गतिविधिलाई सशक्त बनाउने माओवादीको तयारी छ । यसबाट माओवादीले स्थानीय निर्वाचनमा दह्रो उपस्थिति जनाउने भएको छ । माओवादीले तय गरेको कार्यक्रम र हाल माओवादीले जितेको स्थानीय तहमा गरेको प्रभावकारी कामका कारण पनि धेरै स्थानमा जित निकाल्न सक्ने अवस्था देखिएको छ ।