देउवा, प्रचण्ड र नेपालबीच भएको भेटवार्ताबारे नारायणकाजी श्रेष्ठले भने– एमसीसीको नाम नै उच्चारण भएन

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १४ : १६
देउवा, प्रचण्ड र नेपालबीच भएको भेटवार्ताबारे नारायणकाजी श्रेष्ठले भने– एमसीसीको नाम नै उच्चारण भएन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का कारण सत्तारुढ गठबन्धन दलहरुबीच दूरी बढिरहेका बेला आज शिर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।  ‘भेटवार्तामा एमसीसीको नाम उच्चारण पनि भएन,’ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सहभागी नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले  भने, ‘अन्य समसामयिक विषयमा छलफल भयो ।’ 

एमसीसी संसदमा टेवल गर्ने र अनुमोदन गर्ने विषयमा सत्तारुढ दलहरुबीच मतभेद रहँदै आएको छ । माओवादी र एकीकृत समाजवादीले संशोधन नगरी एमसीसी संसदबाट अनुमोदन गर्न नहुने बताउँदै आएका छन् भने सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस हालकै हवस्थामा एमसीसी अनुमोदन गर्नुपर्ने अडानमा रहेको छ । 

यसै साता देउवा र प्रचण्डले संयुक्त रुपमा एमसीसीलाई फागुन भित्र संसदबाट अनुमोदन गर्ने प्रतिवद्धता गरी पठाएको पत्र सार्वजनिक भएपछि सत्तारुढ दलहरुबीच थप दुरी बढेको हो । 

यसैबीच बुधबार प्रचण्ड र नेपालबीच भेटवार्ता भएको थियो । भेटमा उनीहरुले एमसीसीका विषयमा साझा धारणा बनाएका थिए । साझा धारणा लिएर आज प्रचण्ड र नेपाल प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निकट स्रोतका अनुसार भेटवार्तामा प्रचण्ड र नेपालले हालकै अवस्थमा एमसीसी अनुमोदन गर्न नसकिने स्पष्ट अडान राखेका थिए । तर भेटवार्तामा सहभागी माओवादी नेता श्रेष्ठले भने एमसीसीका विषयमा छलफल नै नभएको दाबी गरे । ‘आजको भेटघाट शुद्ध रुपमा चीया गफ जस्तो भयो,’ उनले भने । 
 

प्रतिक्रिया दिनुहोस