नेपालले पठायो अफगानिस्तानलाई सहयोग सामग्री

सफल खबर संवाददाता

आइतबार, ०२ माघ २०७८, १० : ५३
नेपालले पठायो अफगानिस्तानलाई सहयोग सामग्री

काठमाडौँ । तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले आइतबार सहयोग सामग्री पठाएको छ । आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा मानवीय सहायता लक्षित विभिन्न सामग्रीसहितको जहाज काबुलका लागि उडेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

आइतबार बिहान औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित १० टनको सामग्री लिएर नेपाली टोली हवाइजहाजमा अफगानिस्तानको काबुल प्रस्थान गरेको परराष्ट्रमन्त्री नारायण खड्काले बताए । नेपाली टोली काबुल अन्तराष्ट्रिय  विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फर्कने बताइएको छ ।

गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ । तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) ले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने बताएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ ।

त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ । वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २२० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ ।