नेपालले अफगानिस्तानलाई मानवीय सहयोग सामग्री पठाउने

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, १७ : १६
नेपालले अफगानिस्तानलाई मानवीय सहयोग सामग्री पठाउने

काठमाडौं । ठूलो मानवीय संकटको सामना गरिरहेको अफगानिस्तानलाई नेपाल सरकारले सहयोग सामग्री पठाउने भएको छ ।

आइतबार परराष्ट्र मन्त्रालयको नेतृत्वमा एउटा टोली मानवीय सहायता सामग्रीसहित काबुल जाने भएको छ । गत अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा विश्वकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न भएको रिपोर्टहरू सार्वजनिक भएको छ ।

तालिबान सत्तामा आएसँगै अन्तर्राष्ट्रिय सहयोग रोकिएकाले अफगानिस्तानमा मानवीय संकट उत्पन्न भएको हो । आइतबार राति औषधि, लत्ताकपडा र अन्य सामग्रीसहित टोली अफगानिस्तानको काबुल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली टोली काबुल अन्तराष्ट्रिय विमानस्थलमै राष्ट्रसंघीय टोलीलाई सामग्री हस्तान्तरण गरेर फकर्ने कार्यक्रम तय भएको छ । अफगानिस्तानलाई के–के सामग्री सहयोगस्वरूप उपलब्ध गराइँदै छ भन्ने कुरा आइतबार बिहान ७ः४५ बजे परराष्ट्रमन्त्री नारायण खड्काले पत्रकार सम्मेलनमार्फत जानकारी दिने बताइएको छ ।

संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले यो हिउँदमा अफगानिस्तानमा भोकमरीको ठूलो समस्या देखिने जनाएको छ । २ करोड भन्दा बढी जनसंख्याले भोकमरीको समस्या भोग्नुपर्ने पनि डब्लूएफपीको चेतावनी छ । त्यस्तै ५ वर्षमुनिका झन्डै ३२ लाख बालबालिका कुपोषणको सिकार हुनसक्ने बताइएको छ ।

वर्तमान खाद्य संकटलाई सम्बोधन गर्नका लागि प्रतिमहिना २ सय २० मिलियन अमेरिकी डलर चाहिने पनि डब्लूएफपीले जनाएको छ । तत्काल पर्याप्त खाद्यान्न र औषधोपचार नपाउने हो भने करिब १० लाख बालबालिकाको मृत्यु हुनसक्ने डब्लूएफपीको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस