‘भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध हुन्छ’

पत्रपत्रिकाबाट

शनिबार, १० पुस २०७८, ०८ : १६
‘भाडामा बस्नेलाई पनि विद्युत् मिटर उपलब्ध हुन्छ’

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतका नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताएकी छन् ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिएको बताइन्।

उनले भनिन्, “विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति लिएको छु । त्यसका लागि सरकारी एवं निजी क्षेत्रका सङ्घसंस्थासँग निरन्तर छलफल गरिरहेको छु ।”

विद्युत् वितरण विनियमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत् वितरण विनियमावली बनाइएको उनले जानकारी दिइन् । मन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत् पाउने छन् । एक सय केभिएसम्म विद्युत् सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभिएसम्म विद्युत् प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।