फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ: पम्फा भुसाल

सफल खबर संवाददाता

शुक्रबार, २६ मंसिर २०८२, २० : १५
फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ: पम्फा भुसाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेका छन् । 

नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधि सभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरेकी हुन् ।

नेतृ भुसालले नेपाली कम्युनिष्ट पार्टी आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताइन । 

निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दलले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेतृ भुसालले भनिन्, “जेन(जी आन्दोलनपश्चात् देश नै राज्यविहीन अवस्थामा पुगिसकेको थियो, फागुन २१ गतेको चुनाव सम्पन्न गराएर देशलाई लयमा ल्याउनुपर्ने अवस्था छ । संविधान रक्षा गर्दै चुनावले देशलाई लयमा ल्याउँछ ।”

नेपाली जनताको रगत र पसिनाबाट निर्माण भएको संविधान रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै नेतृ भुसालले जनतामा देखिएको नैराश्यता सम्बोधन गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको बताइन् । कार्यक्रममा सो पार्टीका नेता श्रीनाथ बरालले देशलाई स्थिरताको बाटोमा लैजानुपर्ने बताउँदै त्यसैका लागि कम्युनिष्ट पार्टीबीच एकता भएको उल्लेख गरिन् । 

सुशासन कायम गर्दै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिँदै उनले सबै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यक रहेको चर्चा गरिन् । पार्टीका नेता हरिबहादुर चुमानले एकताको सन्देश पालिका र वडास्तरसम्म पुर्‍याउनु पर्ने बताइन् । 

प्रतिक्रिया दिनुहोस