गठबन्धन दलबाट अप्ठेरोमा पर्दै प्रधानमन्त्री देउवा

पत्रपत्रिकाबाट

सोमबार, ०५ पुस २०७८, ०७ : १३
गठबन्धन दलबाट अप्ठेरोमा पर्दै प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनका विषयमा सत्ता गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका छन्।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा संघीय संसद्को जारी अधिवेशनबाट एमसिसी अनुमोदन गराउने पक्षमा छन्। त्यसका लागि सहमति खोज्न उनले आइतबार गठबन्धनका साथै संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरे। तर,उक्त सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी एमाले सहभागी नै भएन भने सत्ता गठबन्धनमै रहेका दलहरूसमेत एमसिसीको विपक्षमा उभिए। यसकारण प्रधानमन्त्री देउवा गठबन्धनभित्रैबाट अप्ठेरोमा परेका हुन्।

सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले एमसिसीको विपक्षमा उभिने स्पष्ट पारेको छ। साथै,सत्ता गठबन्धनमा नरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० ले एमसिसी मुलुकको हितमा नभएको बताएका छन्।

ती दलले एमसिसीको विपक्षमा उभिने बैठकमा स्पष्ट पारे। ‘एमसिसीका सम्बन्धमा केही प्रश्न उठेका छन्, तिनका बारेमा स्पष्ट नभएसम्म समर्थन गर्न नसक्ने तीन दलले स्पष्ट गरेका छौं,’सर्वदलीय बैठकमा सहभागी राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले भने, ‘सर्वदलीय सहमति कायम गरेर अघि बढ्छौं। गठबन्धनका दलभित्र ती विषयमा छलफल गरेर फेरि बैठक बोलाउने आश्वासन प्रधानमन्त्रीले दिनुभएको छ।’                                             

तर सत्ता गठबन्धनका प्रमुख दुई साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पनि एमसिसी पारितको विपक्षमा उभिएका छन्। दुवै दलले अहिलेकै अवस्थामा एमसिसी पारित गर्ने अवस्था नभएको जनाउँदै उठेका प्रश्नहरूमा स्पष्टता आवश्यक रहेको धारणा राखे । नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस