विप्लवसँग सहकार्य गर्दै एकतामा जाने समझदारी बन्दैछ : प्रचण्ड

सफल खबर संवाददाता

शनिबार, ०४ मंसिर २०७८, १६ : ५४
विप्लवसँग सहकार्य गर्दै एकतामा जाने समझदारी बन्दैछ : प्रचण्ड


चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विप्लवसँग सहकार्य गर्दै एकतामा जाने समझदारी बन्दै गएको बताएका छन् । आज भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले विप्लवसँग पटकपटक भेट भइरहेको र आज बिहान पनि गम्भीर रुपमा छलफल भएको बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘विप्लवसँग सहकार्य भइरहेको छ, यसलाई एकतासम्म लैजाने समझदारी बन्दै गएको छ । चुनावमा गठबन्धन गरेर जाने समझदारी बनिसकेको छैन, तर त्यो रुपमा अगाडि बढाउने समझदारी बन्दै गइरहेको छ ।’ प्रधानन्यायाधीशको विषयमा पत्रकारहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले न्यायालयमा देखिएको अहिलेको विवाद केहीदिनमा समाधान हुने अपेक्षा गरे ।

उनले भने, ‘अदालतभित्रको समस्या अदालतभित्रैबाट समाधान होस् भन्ने हाम्रो चाहना हो । केही दिनभित्रैमा समस्या समाधान होस् भन्ने आशासहितको वक्तव्य पाँच दलीय गठबन्धनले वक्तव्य निकालेका हौँ ।’ उनले राजनीतिक दलहरुले अदालतभित्र कहीँकतै हस्तक्षेप गरेको नदेखियोस् भन्ने आफ्नो र सरकारको चाहना भएको बताए । उनले भने, ‘अदालतमाथि राजनीतिक हस्तक्षेप भयो भन्ने नपरोस् भनेर हामी सचेत छौँ, त्यहाँको समस्या त्यहीँ समाधान होस् भन्ने हामी सबैको चाहना हो ।’

अध्यक्ष प्रचण्डले एमसिसी फिर्ता जाहोस् भन्ने आफू र सरकारले नचाहेको बताए । उनले भने, ‘अमेरिकाको अनुदान लिनुपर्छ । आवश्यकता छ । अमेरिकाबाट सहयोग लिँदै आएको छौँ ।’ राष्ट्रिय सहमति गरेर राजनीतिक दलसँग छलफल गरेर एउटा समझदारी गरेर निकास निकाल्ने कोशिस गरेको उनको भनाइ छ । 

अध्यक्ष प्रचण्डले एमालेका कारण एमसिसी सम्झौतामा केही ढिला भएको बताए । उनले भने, ‘महाधिवेशनपछि छलफल गरौँला भनेपछि एमसिसीमा केही ढिला भएको हो, तर सबैसँग समझदारी गरेर परिमार्जनसहित एमसिसीलाई अगाडि बढाउनेमा छलफल भइरहेको छ ।’
 

प्रतिक्रिया दिनुहोस