थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग

सफल खबर संवाददाता

विहीबार, १७ बैशाख २०८३, १९ : ५३
थबाङ जिप दुर्घटना प्रति प्रचण्डद्वारा गहिरो दुःख व्यक्त, मृतकका परिवारलाई राहत दिन सरकारसँग माग

रुकुम पूर्व  । नेकपाका संयोजक एवं रुकुम पूर्वका प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहाल 'प्रचण्ड'ले रुकुम पूर्वबाट रोल्पाको थबाङतर्फ जाँदै गरेको जिप दुर्घटनामा २० जनाको ज्यान गएको खबरले आफू मर्माहत भएको बताउनुभएको छ।

आज एक शोक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। दुर्घटनामा ज्यान गुमाउने अधिकांश नागरिक रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ टाकुराका बासिन्दा रहेको उल्लेख गर्दै प्रचण्डले घाइतेहरूको नि:शुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ।

साथै, उहाँले मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन आग्रह गर्दै उद्धार कार्यमा जुट्न पार्टी पंक्तिलाई निर्देशन समेत दिनुभएको छ। सडक सुरक्षाका उपायहरू सुदृढ गरी यस्ता घटना दोहोरिन नदिन उहाँले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ।

प्रतिक्रिया दिनुहोस