ओलीको व्यापारिक स्वार्थप्रेरित निर्णय उल्टियो, राष्ट्रिय पुस्तकालय जमलमै बन्ने

सफल खबर संवाददाता

सोमबार, २२ कार्तिक २०७८, ११ : ०२
ओलीको व्यापारिक स्वार्थप्रेरित निर्णय उल्टियो, राष्ट्रिय पुस्तकालय जमलमै बन्ने

काठमाडौं । राष्ट्रिय पुस्तकालयको भवन काठमाडौंको जमलमै बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि पुस्तकालय निर्माणको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले त्यहाँ त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो ।

व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए । २०७२ को भूकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।  ‘भवन निर्माणको डिजाइन तयार भइसकेको छ, ठेक्का प्रक्रियामा जान्छ,’ उनले भने । 

प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ओली सरकारले निर्माणमा रोक लगाएको पुस्तकालय भवन जमलमा नै निर्माण गर्न चासो देखाएका थिए ।शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जमलस्थित कित्ता नं. १२७० मा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसारका काम अघि बढाउन स्वीकृति दिएको हो । अब त्यहाँको ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुनेछ । 

भवनको डीपीआर सकेर टेन्डर प्रक्रिया सुरु गर्ने बेला ओली नेतृत्वको सरकारले २०७७ साउन ५ मा ‘अर्को निर्णय नभएसम्म जमलको जग्गामा राष्ट्रिय पुस्तकालयको भवन निर्माण नगर्ने÷नगराउने’ निर्णय गरेपछि काम रोकिएको थियो । पुस्तकालय निर्माणको प्रस्तावित जमलको जग्गामा त्यतिबेलै राखिएको ‘राष्ट्रिय पुस्तकालय भवन निर्माण स्थल’ लेखिएको साइनबोर्ड अहिले पनि छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्न त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सार्ने र राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो । २०७२ वैशाखको भूकम्पले हरिहर भवनस्थित राष्ट्रिय पुस्तकालयको भवनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि जग्गा खोजी भएको थियो ।