टी-२० विश्वकप :  इंग्ल्यान्डलाई श्रीलंकाको चुनौती

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, १४ : ४५
टी-२० विश्वकप :  इंग्ल्यान्डलाई श्रीलंकाको चुनौती

काठमाडौं । आईसिसी टी-ट्वान्टी क्रिकेट विश्वकप प्रतियोगितामा सोमबार एक मात्रै खेल आयोजना हुँदैछ । शारजाहमा हुने खेलमा अपराजित इंग्ल्यान्डलाई श्रीलंकाले चुनौती पेस गर्दैछ । खेल नेपाल समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । जारी विश्वकपको सुपर-१२ को समूह-१ को खेलमा इंग्ल्यान्ड लगातार चौथो जितको खोजीमा हुनेछ । अपराजित रहेको इंग्ल्यान्ड ६ अंकका साथ शीर्षस्थानमा छ । इंग्ल्यान्ड पछिल्ला पाँच खेलमा अपराजित छ । 

यता, श्रीलंका भने इंग्ल्यान्डलाई पराजित गर्दै दोस्रो जित निकाल्ने दाउमा हुनेछ । जारी सुपर-१२ को खेलमा श्रीलंकाले तीन खेलमा एक जित पाउँदा दुई खेलमा हार ब्यहोरेको छ । चौथो स्थानमा रहेको श्रीलंकासँग दुई अंक छ । 

जारी विश्वकपमा श्रीलंकालाई सेमिफाइनल यात्रा सहज बनाउन जित्नैपर्ने दबाब छ । यता, इंग्ल्यान्ड भने कमजोर देखिएको श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल यात्रा झनै सहज बनाउने योजनामा छ । 

श्रीलंकाविरुद्ध इंग्ल्यान्डका जासन रोय, जस बट्लर, मोइन अलि, क्रिस जोर्डन, आदिल रशिद जस्ता खेलाडीले आफ्नो प्रभाव जमाउन सक्छन् ।  यता, इंग्ल्यान्डविरुद्ध श्रीलंकाका पाथुम निशांका, कुशल परेरा, दासुन शनका जस्ता खेलाडीले आफूलाई सिद्ध गर्न सक्छन् । 

जारी सुपर-१२ मा इंग्ल्यान्ड पहिलो स्थानमा रहँदा दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । तेस्रो स्थानमा अष्टेलिया रहँदा चौथो स्थानमा श्रीलंका छ । यस्तै पाचौं स्थानमा वेस्ट इन्डिज रहँदा अन्तिम तथा छैटौं स्थानमा बंगलादेश छ । यता, समूह-२ मा तीन खेलमा शतप्रतिशत जितसहित ६ अंक बनाएका पाकिस्तान शीर्षस्थानमा छ । 

प्रतिक्रिया दिनुहोस