टी-२० विश्वकप

दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन

सफल खबर संवाददाता

आइतबार, ०३ फागुन २०८२, १३ : ०८
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गरिरहेको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन जोड्यो ।

दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै नेपालको लक्ष्य केही हदसम्म माथि उकासे । टी–२० विश्वकपमा उनी अर्धशतक बनाउने दोस्रो खेलाडी हुन् । यसअघि सुवास खकुरेलले २०१४ टी–२० विश्वकपमा अर्धशतक बनाएका थिए ।

दीपेन्द्र ४७ बलमा ५८ रन जोडेर आउट भए । यस्तै, सोमपाल कामी २६ रनमा अविजित रहे । लोकेश बमले १३, आसिफ शेखले ११, रोहित पौडेलले ५, आरिफ शेखले २, कुशल भुर्तेलले १ गुलशन झाले ११ रन जोडे ।

बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले चार तथा अकिल हुसेन, म्याथ्यु फोर्डे, समर जोसेफ र रोस्टन चेजले एक–एक विकेट लिए ।

यो खेल दुबै टोलिका लागि महत्वपूर्ण छ । यसअघिका दुई खेल हारेको नेपाल आजको खेल हारेमा प्रतियोगिताको सुपर एटबाट एक खेल अगावै बाहिरिनेछ भने दुई खेल जितिसकेको वेस्ट इन्डिजले नेपाललाई हराएमा एक खेल अगावै सुपर एटमा पुग्नेछ ।