तालिवानको प्रतिबन्धले अध्यारोतर्फ धकेलिँदै अफगान किशोरी

एजेन्सी

सोमबार, ०१ कार्तिक २०७८, १५ : ५१
तालिवानको प्रतिबन्धले अध्यारोतर्फ धकेलिँदै अफगान किशोरी

काबुल । गत मे महिनामा अतिवादी समूह आईएसले एउटा विद्यालयमा बिस्फोट गराउँदा अफगान किशोरी अमिनाका दर्जनौं सहपाठीको मृत्यु भएको थियो । तर, पनि उनले हिम्मत हारिनन् । बरु अध्ययनलाई निरन्तरता दिने जमर्को गरिन् । 

तर, अहिलेको अवस्था झन् फरक छ । एक महिनाअघि तालिवानले छात्राहरुलाई अर्को व्यवस्था नभएसम्म विद्यालय नजान निर्देशन दिएपछि उनी थप चिन्तित छन् । आफ्नो अध्ययनमै पूर्णबिराम लाग्ने हो कि भन्ने पिरले उनलाई सताइरहेको छ । ‘म विद्यालय गएर पढ्न चाहन्छु, साथीहरुसँग रमाइलो गर्न मन छ । तर, तालिवानले पढ्न रोक लगाएका छन् ’, उनी गुनासो गर्छिन ।

तालिवानले सत्ता सम्हालेदेखि उनी निकै दुःखी छन् । पढेर भविष्यमा पत्रकार बन्ने उनको लक्ष्य छ , तर अफगानिस्तानमा आफ्नो भविष्य देखेकी छैनन् । १८ सेप्टेम्बरमा तालिवानले पुरुष शिक्षक र १३ वर्षमाथिका छात्रलाई माध्यामिक विद्यालयमा पठाइदिएको थियो । तर, शिक्षिका र छात्राबारे केही निर्णय भएको छैन् । जसका कारण उनीजस्ता हजारौं बालिका घरमै बस्न बाध्य छन् ।
 
दुई साताअघि तालिवानले उमेर पुगेका छात्रा माध्यामिक विद्यालयमा फर्किन सक्ने निर्णय गरे । तर, उनीहरुमाथि कडा शर्त र बन्देज लगाइयो । तालिवानको आदेशपछि कुन्दुजलगायतका केही प्रान्तमा छात्राहरु माध्यामिक विद्यालय जान थालेका छन् तर उनीहरुलाई यसअघि झै पुरुषसँग बस्न दिइएको छैन् । उनीहरुले छुट्टै पोसाक लगाउनुपर्ने बाध्य पारिएको छ । 

प्रतिक्रिया दिनुहोस