रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

पत्रपत्रिकाबाट

शनिबार, १६ असोज २०७८, ०७ : ३८
रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

काठमाडौं । सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । एक वर्षको वारेन्टी भएको रेल एक वर्षअघि भारतको कोंकण रेल्वे कार्पोरेसनसँग सरकारले ८४ करोड ६५ लाखमा खरिद गरेको थियो ।

नेपाल रेल्वे कम्पनीद्वारा खरिद गरेर दुई सेट रेल २ असोज २०७७ असोजमा नेपाल ल्याइएको थियो । जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई सो रेल सेट हस्तान्तरण गरिए पनि अहिलेसम्म सञ्चालन आउन सकेको छैन ।

खरिद गरेको एक वर्ष पूरा भएपछि सो रेलको इन्जिन र बोगीको वारेन्टी ३ असोजमा नै सकिएको छ । रेललाई खुला आकाशमा पालले ढाकेर सशस्त्र प्रहरीको पहरा दिएर राखिएको छ ।

लामो समयसम्म राखिँदा रेललाई ढाकिएको पालसमेत च्यातिन थालेका छन् । राजधानी दैनिकमा खबर छ ।