काँग्रेस उपसभापति निधि र भारतीय भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, ०८ : ४२
काँग्रेस उपसभापति निधि र भारतीय भाजपा नेता चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।

बुधबार भएको भेटवार्तामा उनीहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार रामजी दाहालले बताए । भाजपा विदेश विभाग प्रमुख चौथाइवाले कांग्रेसको निमन्त्रणामा नेपाल भ्रमणमा आएका हुन् ।

भेटमा उपसभापति निधिले भारत सरकारले नेपाल सरकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा भएको सहमतिअनुसार अझै खोप नआएको भन्दै तत्काल उपलब्ध गराउन उनी मार्फत भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।  साथै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर भ्रमणका क्रममा घोषणा भएको विकास अनुदान अहिलेसम्म कार्यान्वयन नभएकामा समेत ध्यानाकर्षण गराएका थिए । 

जनकपुर–कुर्ता रेल्वे सेवा सञ्चालन गराउन दुवै देशका सरकार मिलेर आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने भन्दै उपसभापति निधिले दुवै देशका प्रधानमन्त्रीबाट संयुक्तरुपमा उद्घाटन गराउनुपर्नेमा जोड दिएका छन् । विदेश विभाग प्रमुख चौथाइवालेले उपसभापति निधिले उठाएका विषयलाई आफूले सकारात्मकरुपमा लिएको बताएका थिए । 

प्रतिक्रिया दिनुहोस