मेलम्चीको भेलमा मिसियो आँसु, स्थानियको उठीबास

पत्रपत्रिकाबाट

सोमबार, १८ साउन २०७८, ०७ : ५३
मेलम्चीको भेलमा मिसियो आँसु, स्थानियको उठीबास

मेलम्ची । मेलम्ची खोला उर्लेर आयो। हेर्दाहेर्दै घरखेतै बगायो। त्यही दिनदेखि ५० वर्षीया नाजु तामाङका आँखा ओभाएका छैनन्। सायद आँसुको पनि बाढी गइसक्यो होला। निकै मिहिनेत गरेर २० वर्षअघि बनाएको उनको घरलाई भूकम्पले पनि ढाल्न सकेको थिएन। तर, बाढीले जगदेखि पकलक्क उखेलिएर एकतर्फी ढल्किएको छ दुईतले ढलान घर। त्यही घरको मूल ढोकामै अडेस लागेर बसेको भेटिइन् नाजु। 

बाढीले घर मात्रै होइन, त्यही वरपर रहेको खेतबारी पनि बगायो। गाउँका दिदीबहिनी भेट हुँदा होस् वा अरू कोही, बाढीका कुरा निस्किनासाथ उनी भक्कानिन्छिन्। उनको परिवार घरभन्दा माथि रहेको अस्थायी टहरामा आश्रय लिएर बसिरहेको छ। परिवारमा श्रीमान्, दुई छोरा, बुहारी र नातिहरू छन्। हेलम्बु गाउँपालिका–२ गणेश बगरकी उनले पोहोर मात्र २४ लाख ऋण लिएर खेत किनेकी थिइन्। त्यही खेत पनि बाढीले बगायो। 

हजुरबाकै पालादेखिको ५० मुरी धान फल्ने खेत पनि बगेपछि सम्पत्तिका नाममा केही बाँकी रहेन। छोराहरू खेतीपातीसँगै ट्राउट माछापालन गर्थे। तर, त्यो पनि बाढीले डुबायो। उनी त्यस दिन छोरीको रोपाइँमा गएकी थिइन्। अपराह्न ४ बजेदेखि खोलाको सतह बढ्न थालेको महसुस गरिन्।

रोपाइँ सकिएर नुहाउन जाँदा खोला धमिलिइसकेको थियो। आफूले किनेको खेतछेउ पो खोला आइपुग्यो कि भन्ने भयो। छोरालाई हेर्न पठाउँदा जान मानेनन्। उनका श्रीमान् र छोराहरू माछा पालेको ठाउँमा कुलो भत्कियो भन्दै उतै लागे। 

खोला एक्कासि यति बढ्यो कि हेर्दाहेर्दै किनारमा रहेका रूखहरू ढले। त्यसपछि आत्तिएर उनले नाति च्यापिन्। कुलो बनाउन गएका श्रीमान् र छोराहरूको चिन्ता गर्दै उनी रुँदै घरछेउमै बसिरहेकी थिइन्। त्यतिकैमा छोरा आउँदाआउँदै मुर्छा परे।

होस खुलेपछि छोराले ‘माछाहरू सबै बगायो, हामी यहाँ नबसौं, भागौं आमा’ भनेको उनले सुनाइन्। उनले मध्यरातमा पनि चिन्ता लागेर घर हेरिन्। त्यति बेलासम्म केही भएको थिएन। ‘फेरि आएर हेर्दा त घर पनि छैन, गोठ पनि छैन अनि खेती पनि छैन’, दुवै हातका बाहुलाले आँसु पुछ्दै उनले भनिन्। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस