होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

पत्रपत्रिकाबाट

शनिबार, १६ साउन २०७८, ०७ : ३०
होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा

झापा । विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफु आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दावी गर्नुभएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।