भारतीय मन्त्रीको किन भयो सुटुक्क नेपाल भ्रमण ?

पत्रपत्रिकाबाट

बुधबार, १३ साउन २०७८, ०७ : ५२
भारतीय मन्त्रीको किन भयो सुटुक्क नेपाल भ्रमण ?

काठमाडौं । हालै नियुक्त एकजना भारतीय मन्त्री गुपचुप काठमाडौं ओर्लिएर उसैगरी फर्किएका छन् । तर, उनी केका लागि आए ? कहाँ–कहाँ गए भन्नेबारे परराष्ट्र मन्त्रालय त्यति राम्रोसँग जानकार छैन ।

त्यसरी आएका मन्त्री हुन्, डा.महेन्द्रनाथ पाण्डे । असार २५ गते हेभी इक्वीपमेन्ट उद्योग सम्बन्धी मन्त्रालय सम्हालेका उनी साउन ८ गते शुक्रबार आएर दुई दिन बसी आइतबार फर्किएको विमानस्थल स्रोतले जनाएको छ । स्थलमार्गबाट जाने सोचमा रहेका उनी प्लेनमै फर्किएको र धार्मिक भ्रमणका सिलसिलामा आएको अनुमान छ । 

उता, अष्ट्रेलियाको राजदूतका रुपमा आधा कार्यकाल पनि काम गर्न नपाई फिर्ता बोलाइएका महेशराज दाहाल आइतबार कतार एयरवेजको जहाजबाट काठमाडौं ओर्लिएका छन् । उनी पद गएको दुई महिनापछि स्वदेश फर्किएका हुन् । कोभिडको दोस्रो भेरिएन्टका कारण हवाई सेवा ठप्प हुँदा उतै बस्न बाध्य भएका थिए । त्यस्तै, म्यानमारमा राजदूतको कार्यकाल सिध्याएर भीम उदास, डेनमार्कबाट युवनाथ लम्साल पनि महेश सँगसँगै जस्तो स्वदेश फिर्ता भएका छन् । 

त्यस्तै, केपी ओली सरकारले नियुक्त गरेका ११ राजदूतमध्ये सबैको एग्रीमोका लागि सम्बन्धित देशमा पठाइएको पत्र रद्ध गरिएको छ । त्यो पत्र रद्ध गरिए पनि भियनाका लागि नियुक्त भएका निर्मल काफ्लेको एग्रीमो आउने प्रक्रिया अन्तिम चरणमा पुगेको थियो । तर, एउटै सूचनाले सबैको नियुक्ति खाइदियो । सबैभन्दा मारमा त जीवनप्रकाश श्रेष्ठ परेका छन् । इजिप्टका लागि राजदूत नियुक्त भएका उनको जागिर अनिवार्य अवकाशका कारण सकिएको छ, फेरि राजदूत भएर कुनै देश जाने सम्भावना पनि तत्काललाई टरेको छ । यस्तै, ओली सरकारले विभिन्न समयमा गरेको सबै राजदूतलाई फिर्ता बोलाउने तयारी शुरु भएको छ ।

केही दिनपछि विभागीय मन्त्री नियुक्त हुनासाथ उनीहरू फिर्ता बोलाइने सम्भावना छ । त्यसरी फिर्ता हुने सम्भावित राजदूतमा चीनका महेन्द्रप्रसाद पाण्डे, अमेरिकाका डा.युवराज खतिवडा, भारतका नीलाम्बर आचार्य, बेलायतका लोकदर्शन रेग्मी, इजरायलकी अञ्जान शाक्य, दक्षिण अफ्रिकाका निर्मल विश्वकर्मा, ओमनकी शर्मिला पराजुली ढकाल हुन् । त्यसमध्ये डा.खतिवडा अमेरिका गएको ५ महिना र लोकदर्शन बेलायत गएको ४ महिनामात्रै भएको छ ।

निर्मल पनि गत चैतमा मात्र दक्षिण अफ्रिका गएका हुन् । त्यस्तै, कूटनीतिक सेवाका क्रममा विभिन्न देशमा रहेका कर्मचारी फिर्ता हुने क्रम पनि शुरु भएको छ । बेइजिङबाट डिसिएम सुशील लम्साल, न्युयोर्कबाट घनश्याम भण्डारी, बेल्जियमबाट सुधीर भट्टराई फिर्ता भएका छन् । अर्कातिर, परराष्ट्रअन्तर्गतका अधिकृतहरूको बढुवा भएको छ । शाखा अधिकृतबाट उपसचिवमा ६ जना र उपसचिवबाट सहसचिवमा ५ जना उक्लिएका छन् । जनआस्था साप्ताहिकबाट साभार

प्रतिक्रिया दिनुहोस