काठमाडौं । केही साता अघिसम्म कोरोनाविरुद्ध खोपको अभाव चर्को थियो । भारतमा कोरोनाको दोस्रो लहर उच्च भएपछि रकम बुझाई खरिद गरिएको खोप पनि आउन सकेन ।
खोप उत्पादक मुलुकले आफ्नै नागरिकलाई पहिलो प्राथमिकता दिएपछि नेपालजस्ता मुलुकका लागि खोपमा सहज पहुँच जटिल बन्यो तर अब भने खोप सहज बन्दै गएको छ ।
मित्रराष्ट्रबाट सहयोग, कोभ्याक्स सुविधा र खरिदमार्फत धमाधम खोप आउन थालेको छ । समग्रमा ६५ लाख मात्राभन्दा बढी खोप स्वदेश आइसकेको छ । थप खोपसमेत आउने प्रक्रियामा रहेकाले नेपालीलाई अब खोपको अभाव नहुने बरु प्रभावकारी व्यवस्थापनको आवश्यकता रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले हालसम्म नेपालमा ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइसकेको जानकारी दिए ।
अझै खोप आउने क्रममा रहेकाले नेपालमा खोपको अभाव नहुने जानकारी गराउँदै उनले भने, “जसरी नेपालमा खोप आइरहेको छ, त्यही अनुपातमा खोप आउँदा असोजसम्ममा एक तिहाइ जनसङ्ख्याले खोप पाइसक्छन् । खोप निरन्तर आउने प्रक्रियामा रहेकाले अभाव नहुने स्पष्ट गर्दै प्रवक्ता पौडेलले नेपालमा हालसम्म आएको खोप खरिद गरेर ल्याइएको, अनुदान सहयोगमा आएको र कोभ्याक्स सुविधाअन्तर्गत आएको जानकारी दिए ।
नेपालमा केही दिनभित्रै ६४ लाख मात्रा खोप आउने जानकारी दिँदै उहाँले चीनसँग खरिद गरिएको ३२ लाख तत्काल आउने क्रममा रहेको बताउनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेटेर चीनले थप १६ लाख मात्रा खोप अनुदानमा दिने जानकारी गराइन् । यो खोप नेपालले खरिद गरेभन्दा बाहेकको हो ।
प्रवक्ता पौडेलका अनुसार अब जापानबाट थप १६ लाख मात्रा खोप आउँदै छ । यो खोप कोभ्याक्स सुविधाभन्दा छुट्टै रहेको बुझाइ छ । जापानबाट आउने खोप पहिलो मात्रा कोभिसिल्ड खोप लगाएका १४ लाख वृद्धलाई दोस्रो डोज लगाउन मिल्ने भएकाले त्यसैअनुसार व्यवस्थापन गरिने छ ।
नेपाललाई प्रारम्भमै भारतले १० लाख र चीनले १८ लाख मात्रा खोप अनुदानमा दिइसकेको छ । चीनले सुरुमा आठ लाख मात्रा र दोस्रो पटक थप १० लाख मात्रा खोप अनुदानमा सहयोग गरेको थियो । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०३ साउन २०७८, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागलुङका ६ हजार बढी बालबालिकालाई लगाइयो सबै खोप
९ हजार बढी बाख्रालाई पीपीआरविरुद्धको खोप
तनहुँका १४ हजार छात्रालाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै
काभ्रेका १६ हजार छात्रालाई क्यान्सरविरुद्धको खोप दिइने
क्यान्सरविरुद्धको खोप सित्तैमा बाँड्दैछ रुस ?
हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन