देउवाले खाँडलाई नै गृहमन्त्री बनाउनुको रहस्य !

सफल खबर संवाददाता

शनिबार, ०२ साउन २०७८, १५ : ४७
देउवाले खाँडलाई नै गृहमन्त्री बनाउनुको रहस्य !

काठमाडौं । सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । झन्डै १७ वर्ष अगाडिको नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र हालका गृहमन्त्री बालकृष्ण खाँडले घोडा सवार गरेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस तस्बिरलाई लिएर देउवाले खाँडलाई गृहमन्त्री बनाउनुको रहस्य भनेर मानिसहरुले सामाजिक सञ्जालमा अथाइरहेका छन् ।

कांग्रेस सभापति देउवाले गत मंगलबार पाँचौं पटक प्रधानमन्त्री पदको शपथ लिनुअघि गृहमन्त्री को बन्लान् भने चर्चा नेपाली कांग्रेस वृत्तमा थियो । कतिपयको अनुमान यसअघि अर्थमन्त्री भइसकेका र देउवालाई विश्वास र सम्मानको कुनै कसर बाँकी नराख्ने ज्ञानेन्द्रबहादुर कार्की मन्त्रीमण्डका दाहिने हात होलान् भन्ने थियो। तर देउवाले बालकृष्णलाई दाहिने हात बनाए गृहमन्त्री दिएर 
देउवाले विशिष्ट र अलग परिस्थितिमा गृह मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयमा नेता खाँड लैजानुलाई कांग्रेसको पार्टी–पंक्तीभित्र पनि चर्चाको विषय बनाइएको छ। देउवाको हरेक काममा समर्थन र सहयोग गर्ने पात्र हुन् बालकृष्ण खाँड । आफ्ना हरेक राम्रा नराम्रा हरेक राजनीतिक उतारचढावमा साथ दिएका बालकृष्ण खाँडलाई देउवाले नछोड्नुको रहस्य धेरै छ । देउवा निकट  एक नेताका अनुसार खाँडले देउवालाई दुई दशक छोडेकै छैनन्, देउवाको हरेक काममा खाँडको संलग्न छ, त्यसैले त खाँड देउवाको पहिलो रोजाइमा परेका हुन् ।

कांग्रेसभित्र देउवाका सहयोगी हातहरुको एउटा पंक्ती नै छ। यीमध्ये विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, बालकृष्ण खाँड, ज्ञानेन्द्र कार्की, पूर्णबहादुर खड्का, रमेश लेखक, एनपी साउद, विश्वप्रकाश शर्मा, मिन विश्वकर्मा र प्रकाशशरण महतको सक्रियता उच्च तहको थियो। तर यो लाममा रहेका नेता निधी र देउवाको सम्बन्ध पछिल्लो दिनमा अलिक ‘ग्रे जोन’मा पुगेको छ।

निधीले आसन्न महाधिवेशनमा सभापति उठ्ने उद्घोष गरेपछि बुढानिलकण्ठसँग उनको साइनो पातलिएको अनुमान दलभित्र गरिएको छ। यद्यपी नेता निधी प्रत्यक्ष निर्वाचनमा पराजित भएकाले उनलाई अहिले सरकारमा लैजाने अवस्था थिएन।अहिले देउवासामु खाँडबाहेक गृहमन्त्रीमा अर्को रोजान हुन सक्ने अवस्था नै थिएन । त्यसपछि दोस्रो रोजाइमा ज्ञानेन्द्र कार्की हुन्, जसलाई उनले कानुनमन्त्री बनाइसकेका छन् ।  

देउवा सरकार चुनावी सरकार पनि हो । खाँडजस्ता नेतालाई गृहमन्त्री बनाए चु्नावी नयाँ रणनीति बनाउन सजिलो हुने कारणले पनि देउवाको रोजाइमा खाँड परेका हुन् । देउवाले आफ्नो नेतृत्वको सरकार ढिलो–चाँडो चुनावी सरकार भएको बुझेका छन्। र, चुनाव गराउन प्रभावकारी काम गर्न सक्ने नेता गृहमन्त्री आवश्यक पर्ने कुरा स्वयं गृहमन्त्री भइसकेका देउवाले नबुझ्ने कुरै भएन। २०४६ सालमा नेविसंघको अध्यक्ष र २०५४ सालमा तरुण दलको नेतृत्व गरिसकेका खाँडसँग संगठनको तल्लो तहसम्म पहुँच छ। जसका कारण खाँडलाई नेतृत्व दिँदा देउवालाई राष्ट्रिय राजनीतिमा मात्रै होइन, पार्टी राजनीतिमा समेत फाइदा पुग्ने देउवा निकट एक नेता बताउँछन्। 

२०५९ सालमा दोस्रो पटक प्रधानमन्त्री रहेका बेला देउवाले माओवादीसँग जुध्न संकटकाल लगाउने र सेना परिचालन गर्ने योजना बनाए। तर, पार्टी सभापति रहेका कोइरालाले त्यो निर्णय नगर्न दबाब दिएका थिए। तर, देउवाले पार्टीको निर्देशन मानेनन्। सोही कारण कोइरालाले देउवालाई स्पष्टीकरण सोधेका थिए। देउवाले स्पष्टीकरण नदिएछि उनी कारबाहीमा परे। साधारण सदस्य समेत नरहनेगरी कारबाही भोगेपछि देउवाले २०५९ असारमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे। दल विभाजनका बेला पनि खाँडले देउवालाई साथ दिए। देउवा नेतृत्वको पार्टीमा उनी केन्द्रीय सदस्य बनेका थिए। जबकी उनी त्यो बेला तरुण दलको अध्यक्ष थिए। खाँड नेतृत्वको सिंगो तरुण दल कांग्रेस प्रजातान्त्रिकमा आएको थियो। 

२०६४ सालमा पार्टी एकीकरणपछि पनि खाँडले देउवालाई निरन्तर रुपमा सहयोग गरे। प्रलोभनमा परेर खाँडले गुट परिवर्तन गरेनन्। १३ औं महाधिवेशनबाट देउवालाई सभापति निर्वाचित गराउन ठूलो भूमिका खेलेका खाँडले दुःखका बेला दिएको साथ देउवाले भुलेका छैनन्। फलस्वरुप खाँडलाई अवसर समेत दिँदै आएका छन्। २०७४ सालमा चौथो पटक प्रधानमन्त्री रहेका बेला देउवाले खाँडलाई रक्षामन्त्री बनाएका थिए। तर, देउवा नेतृत्वको सरकारले गराएकै निर्वाचनमा कांग्रेस पराजित भयो। पहिलोबाट दोस्रो दलको हैसियतमा कांग्रेस पुगेपछि देउवाले खाँडलाई संसदीय दलको प्रमुख सचेतक बनाएका थिए। र अहिले पुनः खाँडलाई गृहमन्त्री बनाएका छन्। 

खाँडले गृह मन्त्रालय पाउनुको अर्को अर्थ पनि छ। त्यो हो– महाधिवेशनसम्मको जोडी। आगामी भदौभित्र कांग्रेसको १४ औं महाधिवेशन हुनेछ। त्यो महाधिवेशनमा देउवाले खाँडलाई महामन्त्रीका रुपमा अघि सार्ने तयारी गरेका छन्। त्यसकै पूर्वसंकेत हो– गृह मन्त्रालय सुम्पनु। ‘प्रधानमन्त्री र गृहमन्त्रीमा जसरी उहाँहरुको जोडी बाँधिएको छ, त्यसरी नै सभापति र महामन्त्रीमा बाँधिने लगभग पक्का जस्तै छ,’ कांग्रेसका एक नेताले भने ।