काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता उजुरीसम्बन्धी छानबिन प्रक्रियामा आवश्यक सहकार्य नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारबाही अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।
मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्राचार गर्दै क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन स्पष्ट निर्देशन दिएको हो । उक्त पत्र २३ वैशाखमा राखेपमा दर्ता भएको जनाइएको छ ।
अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते उजुरी दर्ता भएपछि सो सम्बन्धमा २०८१ पुस २५ गते मन्त्रालयस्तरको निर्णय र २०८२ भदौ ५ गते मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरिएको थियो । तर, छानबिनका लागि आवश्यक अभिलेख उपलब्ध गराउने दायित्व पूरा नभएको मन्त्रालयले जनाएको छ ।
खेलकुद विकास ऐन, २०७७ को दफा २८ (च) र (ड) अनुसार मन्त्रालय तथा परिषद्ले श्रेस्ता परीक्षण र जाँचबुझका लागि माग गरेका कागजात उपलब्ध गराउनु पर्ने व्यवस्था भए पनि क्यानले सो कानुनी प्रावधान पालना नगरेको उल्लेख गरिएको छ ।
मन्त्रालयले २०८२ वैशाख १४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार क्यानलाई अन्तिम चेतावनीसहित स्पष्टीकरण सोध्न र किन कारबाही तथा निलम्बन नगर्ने भन्ने विषयमा जवाफ माग्न निर्देशन दिएको छ ।
ऐनको दफा २९ बमोजिम क्यानमाथि कारबाही तथा निलम्बनसम्मको प्रक्रिया अघि बढ्न सक्ने उल्लेख गर्दै मन्त्रालयले आवश्यक कागजात र स्पष्टीकरण उपलब्ध नभए थप कानुनी प्रक्रिया अघि बढ्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ बैशाख २०८३, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानसँगको खेलको लागि नेपाल ‘ए’ टोलीको घोषणा
महिला क्रिकेट विकासका लागि आइसीसी अनुदानबाट ५ लाख डलर खर्च गर्ने क्यानको निर्णय
क्यानलाई एनपीएलबाट २७ करोड ६९ लाख आम्दानी
क्यानको बोर्ड बैठक बिहीबार बस्दै, एनपीएलको तयारीबारे छलफल हुने
क्यानको कार्यशैलीप्रति ८ बोर्ड सदस्यले जनाए असन्तुष्टि
आरिफ घाइते नभएको क्यानको प्रष्टोक्ति