जसपा उपेन्द्र यादव पक्ष कहिले जाला सरकारमा ?

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १६ : ०१
जसपा उपेन्द्र यादव पक्ष कहिले जाला सरकारमा ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्ष सरकारमा गइसकेको छैन । नेकपा माओवादी केन्द्र दुईमन्त्रीसहित सरकारमा गइसकेको छ । पाँच दलीय गठबन्धनमा रहेको जसपा उपेन्द्र यादव पक्ष सरकारमा जानलाई हतार गरेको छैन ।

गठबन्धनमा रहेको एमालेको माधव नेपाल पक्ष सरकारमा जाने या नजाने बारे केही धारणा आएको छैन, तर नेपाल निकटका नेताहरु देउवालाई आफ्नो समर्थन रहने र विश्वासको मत दिने धारणा राखिरहेका छन ? जसपाको उपेन्द्र यादव पक्ष दलको आधिकारिकता विवाद निर्वाचन आयोगले टुंगो लगाएपछि मात्रै सरकारमा जाने भएको छ। 

निर्वाचन आयोगले जसपा आधिकारिकता विवाद टुंग्याउन ३ साउनमा इजलास तोकेको छ। आयोगले दुवै पक्षको बहस सुनेपछि आधिकारिकता विवाद टुंग्याउने तयारी गरेकाले जसपा तत्काल सरकारमा नजाने भएको हो। आयोगले विवाद टुंग्याए जसपा साउन दोस्रो सातासम्ममा सरकारमा जान सक्नेछ।

गत २२ असारमा आयोगले जसपाका उपेन्द्र–बाबुराम र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षलाई बोलाएर पार्टी एकताका लागि छलफलसमेत गरेको थियो। छलफलमा ठाकुर र यादवले एउटै पार्टीमा बस्न नसक्ने भएकाले पार्टी आधिकारिकता तत्काल टुंगो लगाइदिन आग्रह गरेका थिए। पार्टी आधिकारिकता पाए बहुमत सांसद आफ्नो पक्षमा हुने संभावना देखेकाले सरकारमा जान जसपाले ढिलाइ गरेको हो।

निर्वाचन आयोगबाट दल दर्ताको आधिकारिकता पाएमा कार्यकारिणी समिति सदस्य र संसद संख्या बढ्ने भएकाले सरकारमा जान हतार नगरेको एक कार्यकारिणी सदस्यले बताए। देउवा सरकारमा उपेन्द्र यादवको नेतृत्वमा पाँचदेखि सात जना मन्त्री सरकारमा जाने सहमति भएको छ।

प्रतिक्रिया दिनुहोस