राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति नेपालको प्राथमिकता’

रासस

शुक्रबार, ११ असार २०७८, २० : १६
राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति नेपालको प्राथमिकता’

काठमाडौँ । नेपाल सरकारले राष्ट्र, जनता, सुशासन र विकास केन्द्रित परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व शान्ति, समृद्धि र विकासलाई नै त्यसले विशेष जोड दिएको बताए ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सम्पादन एवं प्रकाशन गरेका चारवटा पुस्तक आज यहाँ विमोचन गर्दै उहाँले समानता, पारस्परिक लाभ र सम्मानका आधारमा स्पष्ट मार्गचित्रका साथ वर्तमान सरकारले बाह्य सम्बन्ध विस्तार गरिरहेको बताए ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएको तथा त्यसै अनुरूप काम गरिरहेको पनि उनले बताए ।

मानव अधिकारको संरक्षण एवं प्रवद्र्धन, गरिबी,  भोकमरी र जलवायु परिवर्तनका असर घटाउने, महामारी, आतङ्कवाद नियन्त्रण तथा विधिमा आधारित न्यायपूर्ण, समावेशी र निष्पक्ष विश्वव्यवस्था निर्माणका लागि सहकार्य, क्षेत्रीय सहयोग, शान्ति र सहकार्य प्रवद्र्धनलाई नै नेपालले परराष्ट्र नीतिको गन्तव्य बनाएको उहाँको कथन थियो ।

“नेपालको राष्ट्रिय हित र स्वार्थलाई सर्वोपरि राखेर बाह्य सम्बन्ध विस्तारलाई हामीले प्राथमिकता दिएका छौँ, नेपाल र नेपालीको उन्नयन, छिमेक सम्बन्धको सुदृढीकरण, सहकार्य, संवाद र साझेदारीबाट असमझदारीको अन्त्य गर्ने हाम्रो चाहना हो”, भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्ने तथा एउटाका विरुद्ध अर्को ‘कार्ड’ प्रयोग गर्ने नेपालको नीति कहिल्यै नरहेको प्रष्ट्याउँदै प्रधानमन्त्री ओलीले भने ।

‘वसुधैव कुटुम्बकम्’ अर्थात् धर्ती नै परिवार हो भन्ने मान्यताका साथ देशको परराष्ट्र नीति सञ्चालन भएको र त्यसले सामााजिकता, सहअस्तित्व, समन्वय, प्रेम र सद्भावलाई आत्मसात गरेको बताउँदै उहाँले कसैसँग वैरभाव नराख्ने तथा सबैसँग मैत्री कायम गर्ने सरकारको नीति दोहो¥याए । “वसुधैव कुटुम्बकम्को ऐतिहासिक मान्यतालाई राष्ट्रिय हितमात्र होइन, सार्वभौम समानता, न्याय र अन्तरराष्ट्रिय उत्तरदायित्वसँग पनि जोडिनुपर्छ ।

सबै सानाठूला सबै राष्ट्रका लागि विश्वमा शान्ति कायम गर्ने र साझा समृद्धिका लागि प्रयास केन्द्रित गर्नुपर्छ”, मानवजातिको कल्याण, विश्वशान्ति र आमविनाशका हातहतियारहित विश्वको पक्षमा नेपाल रहेको अभिमत प्रकट गर्दै प्रधानमन्त्री ओलीले भने । आणविक हातहतियारसहित सबै किसिमका शस्त्रास्त्रको निर्माण, सङ्कलन र सङ्ग्रहको विपक्षमा नेपाल रहेको उहाँले स्पष्ट गरे ।