औद्योगिक मेलामा उद्योग दर्ता प्रक्रियाको बारेमा बुझ्नेको चाप

आइतबार, २५ चैत्र २०७४, १४ : ४७
औद्योगिक मेलामा उद्योग दर्ता प्रक्रियाको बारेमा बुझ्नेको चाप

शान्ता अधिकारी


चितवन । नवलपरासीबाट हतार हतारमा आउनु भएका २७ वर्षका देवराज रिजाललाई उद्योग खोल्दा कहाँ जानु पर्छ ? के गर्नुपर्छ भनेर बुझ्नु परेको थियो । उहाँले चितवन उद्योग संघको आयोजनामा चितवन एक्स्पो सेण्टर भरतपुरमा भैरहेको औद्योगिक प्रदर्शनीमा गएर उद्योगका बारेमा सम्पूर्ण जानकारी लिनुभयो ।
रिजालमात्रै होइन, अन्य युवा र प्रौढहरुको ध्यान पनि अहिले औद्योगिक प्रदर्शनीमा गएको छ । थोरै समयमा धेरै थाहा पाइने भएर प्रदर्शनी अवलोकन गर्न आएको भरतपुर ११ का निरोज दवाडी बताउनु हुन्छ । ‘यहाँबाट सबै कुरा थाहा पाइने रहेछ’ उहाँले भन्नुभयो, ‘मलाई अब कागजको गिलास खोल्ने उद्योगका बारेमा बुझ्नु थियो, सबै बुझेँ ।’  
शुक्रबारबाट चितवन एक्स्पो सेन्टर भरतपुरमा सुरु भएको पाँचौं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा अहिले उद्योग सञ्चालन कसरी गर्ने भनेर जानकारी लिन पाइने भएपछि सबैको ध्यान यतातिर तानिएको छ । औद्योगिक वस्तु आयात, निर्यात र भन्सार प्रक्रिया एवम् छुटबारे जानकारी, प्रदेश सरकारले गर्ने औद्योगिक विकासका कार्यहरु, संघीय कर सम्बन्धी व्यवस्था, उद्योग सञ्चालनमा लेखा व्यवस्था, उद्योग र उद्योगीहरुको प्रवद्र्धनमा उद्योग संघको भूमिका लगायतका विषमा जानाकरी दिने गरिएको उद्योग संघका उपाध्यक्ष राजु पौडेलले बताउनु भयो ।  
नयाँ उद्योगी बन्न चाहनेहरुका लागि प्रदर्शनीमा औद्योगिक परामर्श परिसर राखिएको छ । त्यहाँ प्रत्येक दिन दुई जना विज्ञहरुले परामर्श दिँदै आएका छन् । परामर्श केन्द्रमा घरेलु तथा साना उद्योग कार्यालय, कम्पनी रजिष्ट्रार, आन्तरिक राजश्व कार्यालय, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, उद्योग विभाग र उद्योगमा लामो समय बिताएकाहरुले परामर्श दिने गरेको उपाध्यक्ष पौडेलले बताउनु भयो ।
परामर्श केन्द्रबाट कसरी उद्योग दर्ता गर्ने, प्लानिङ, लगानी कसरी गर्ने, मार्केटिङ कसरी गर्ने, बैंक लोन लगायतका विषयमा उद्योगी बन्न चाहनेलाई परामर्श दिइने हुँदा अवलोकनकर्ताको ध्यान यतातिर तानिएको उपाध्यक्ष पौडेलले बताउनु भयो । पौडेलले यस परिसरमा उद्योग सम्बन्धी जे सूचना खोजेर आएपनि त्यो सम्पूर्ण जानकारी दिने व्यवस्था रहेको बताउनु भयो । यहाँ उद्योग संचालनमा पूर्ण रुपले समर्पित उद्योगीहरुका अनुभव सुन्ने व्यवस्था समेत गरिएको छ ।
यस परिसरबाट अनुभव र प्रक्रियाको बारेमा बुझेपछि स्वदेशमै केही मात्रामा भने पनि उद्योगहरु सञ्चलनमा आउन्, धेरैले रोजगारी पाउन् भनेर यो परिसर राखिएको चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी बताउनु हुन्छ । औद्योगिक परामर्श परिसरमा आफ्नो रुचि, क्षमता र बजारको सम्भावना अनुसार व्यवसायीले योजना छनोट गर्ने गरी परामर्श दिने व्यवस्था रहेको अध्यक्ष दुवाडी बताउनु हुन्छ ।
लघु, घरेलु तथा साना, मझौला र ठुला उद्योगहरुको इजाजत, दर्ता सञ्चालन प्रक्रिया र सुविधाका बारेमा जानकारी पाइने हुनाले प्रदर्शनी सुरु भएको तेस्रो दिनमा नै अवलोकनकर्ताको बाक्लो भीड लागेको औद्योगिक प्रदर्शनीका प्रचार प्रसार संयोजक मदन घिमिरे बताउनु हुन्छ । पाँच दिनसम्म चल्ने औद्योगिक प्रदर्शनीमा ८५ प्रतिशत औद्योगिक सामान, उपकरण र १५ प्रतिशत स्थानीय कृषि उत्पादनका स्टलसहित २ सय भन्दाबढी स्टल राखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस