कोरोना कहरमा पनि १० महिनामा भित्रियो ८ खर्ब बढी रेमिटेन्स

पत्रपत्रिकाबाट

मंगलबार, ०१ असार २०७८, ०८ : २१
कोरोना कहरमा पनि १० महिनामा भित्रियो ८ खर्ब बढी रेमिटेन्स

काठमाडौं । कोरोना महामारीले वैदेशिक रोजगारीमा जानेको संख्या घटिरहँदा विदेशका रहेका नेपालीले पठाउने रेमिटेन्स भने निरन्तर बढिरहेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरण अनुसार रेमिटेन्स वृद्धिको क्रम चालु आर्थिक वर्षको चैतसम्म पनि जारी रह्यो। चालु आर्थिक वर्षको १० महिना ९साउन–वैशाख० मा रेमिटेन्स आप्रवाह १९.२ प्रतिशतले बढेर आठ खर्ब नौ अर्ब ८९ करोड रूपैयाँ पुगेको छ, जुन यसअघिका वर्षको तुलनामा सर्वाधिक हो।  

कोरोना महामारीपछि ठूलो संख्याका युवा वैदेशिक रोजगारीमा जान नपाउँदा रेमिटेन्समा ठूलो गिरावट आउने अनुमान गरिएको बेला यसको उल्टो भइरहेको छ। राष्ट्र बैंकका अधिकारीहरू कोरोना महामारीपछि रेमिटेन्समा निरन्तर वृद्धि भइरहुनुको मुख्य कारणमा पछिल्लो समय हुन्डीको कारोबार ठप्प हुनुलाई लिन्छन्। यद्यपि यसबारे अहिलेसम्म अध्ययन भने भएको छैन।  

अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स आप्रवाह ६.३ प्रतिशतले घटेको थियो। अहिले अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिनेको संख्या ६०.३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले घटेको थियो।  

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको थियो। कोरोना महामारीपछि यतिखेर अधिकांश गन्तव्य मुलुकले नेपाली कामदार लैजान बन्द गरेका छन्। सबभन्दा ठूलो गन्तव्य मलेसिया पहिलो लहरको कोरोना महामारी सुरु भएदेखि नै बन्द छ।

अन्य गन्तव्य मुलुकमा फाटफुट नेपाली कामदार जाने गरे पनि सहजै जाने अवस्था अझै सुरु भएको छैन। आर्थिक वर्ष २०७५-७६ मा आठ खर्ब ७९ अर्ब र आर्थिक वर्ष २०७७-७८ मा आठ खर्ब ७५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।  नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस