पानीसँगै हावाहुरीले घरको छानो उडायो

रासस

मंगलबार, २५ जेठ २०७८, ०९ : ३४
पानीसँगै हावाहुरीले घरको छानो उडायो

फाइल फोटो

सिन्धुली । सिन्धुलीमा सोमबार पानीसँगै आएको हावाहुरीले चार घरको छानो उडाएको छ । कमलामाई नगरपालिका–२ छत्युन्टारमा हावाहुरीले चार घरको छानो उडाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार लाखौँको क्षति भएको छ ।

छत्युन्टार बस्ने पञ्चकुमार घलानको ढुङ्गा, माटो र काठले बनेको जस्ताले छाएको दुईतले घरको छानो उडाउँदा रु ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए ।

यस्तै चक्रमान लामाको छानो उडाउँदा रु ६० हजार, निश्चल लामाको रु ४५ हजार र नातिबाबु दमाईको रु ८० हजार बराबरको क्षति भएको उनले जानकारी दिए । यसअघि हावाहुरीले एघार हजार भोल्टेजको विद्युत् तार छिन्दा कमलामाई नगरपालिका–७ निवासी बासकटेरी निवासी अन्दाजी १५ वर्षीय शान्तिमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

करेन्ट लागेर गीता पाण्डे सामान्य घाइते भएकी थिइन् । जिल्लामा केही दिनयता दैनिकरूपमा वर्षा भइरहेको छ । वर्षाले क्षति पुर्‍याएका विवरण प्राप्त हुन थालेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस