के जुकरवर्गले फेसबुकबाट राजीनामा देलान् ?

एजेन्सी

शुक्रबार, २३ चैत्र २०७४, ०९ : ०२
के जुकरवर्गले फेसबुकबाट राजीनामा देलान् ?

बीबीसी । फेसबुकको विषयमा जारी विवादबीच कम्पनीका संस्थापक मार्क जुकरवर्गले कम्पनी सञ्चालनका लागि आफू नै सबैभन्दा उत्तम व्यक्ति रहेको दाबी गरेका छन् । बुधवार जुकरवर्गले कन्फ्रेन्स कलमार्फत संवाददाताहरुसँग फेसबुक कम्पनी सञ्चालनका लागि आफ्नो कुनै विकल्प नभएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘‘तपाईँले फेसबुकजस्तो कुनै चीज बनाउँदै हुनुहुन्छ भने त्योे अभूतपूर्व हो, तर कहिलेकाहीँ गल्तीहरु हुन्छन् । मलाई लाग्छ, यदि  हामी गल्तीहरुबाट पाठ सिक्दै गइरहेका छौं भने मानिसहरुले हामीलाई जवाफदेही बनाउन जरुरी छ ।’’

मार्क जुकरवर्ग फेसबुकका संस्थापकका साथ–साथै कम्पनीका मुख्य कार्यकारी अधिकारी र बोर्डका अध्यक्ष पनि हुन् । कम्पनीमा उनको पदका विषयमा केही चर्चा भइरहेको छ ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले त्यसबारेमा आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । उता न्यूयोर्क सिटी पेन्शन फण्डका प्रमुख स्कट स्ट्रिंगरले यसैसाता जुकरवर्गले पदबाट राजीनामा दिनु उचित हुने बताएका थिए ।

यस फण्डसँग कम्पनीको झन्डै १ अर्ब डलरको हिस्सेदारी छ । स्कट स्ट्रिंगर भन्छन्, “जुकरवर्ग अहिले अप्ठ्यारो स्थितिमा छन् । उनले आफूलाई फेसबुकका बारेमा राम्रो लाग्ने र आफ्नो डाटालाई लिएर निश्चिन्त हुनेगरी सम्हाल्न सकेनन् ।’’ उनले जुकरबर्गसँग पदबाट राजीनामा दिएर फेसबुकलाई आफ्नो सम्मान फिर्ता पाउनका लागि दोस्रो अध्याय शुरू गर्न सक्ने अवस्था सिर्जना गर्न आग्रहसमेत गरे ।

नकारात्मक प्रचारको कुनै असर परेन
३३ वर्षिय मार्क जुकरवर्गले जस्तो सोचेका थिए, उनको कन्फ्रेन्स कलपनि त्यस्तै थियो । एकपटक उनले अधिक समय लिएर सवालको जवाफ दिन चाहेको पनि बताएका थिए ।

उनको जवाफले फेसबुकका बारेमा चलिरहेको नकारात्मक प्रचार र ‘डिलीट फेसबुक’ अभियानलाई खासै असर नपरेको पुष्टि गरेको छ । उनले भने, “हाम्रो जानकारीमा यसको कुनै खास असर परेको छैन । तर यो अभियान राम्रो होइन् ।’’ गत महिनामा केम्ब्रिज एनालिटिकाको मुख्यालयमा इन्फर्मेशन कमिशनका अधिकारीहरुले छापा मारेका थिए ।

१७ मार्चमा ब्रिटेनको अखबार द गार्डियनमा क्याम्ब्रिज एनालिटिकाले फेसबुकका लगभग छ करोड़ प्रयोगकर्ताको डाटा चोरेर २०१६ को अमेरिकी चुनावमा प्रयोग गरेको खबर प्रकाशित भएको थियो ।

फेसबुक कम्पनीले आफ्नो जिम्मेवारी सही तरिकाले निभाउन नसकेको पुष्टि भएमा  कम्पनीले ठूलो धनराशीमा जरिबाना तिर्नुपर्ने छ । जरिबाना तिर्नुपरेको कारण देखाएर कम्पनीमाथि नेतृत्वमा परिवर्तनका लागि दवाब पर्न सक्ने अनुमान गरिएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस