कोरोना कहर : छाक टार्न समस्या

रासस

सोमबार, १७ जेठ २०७८, १८ : ५६
कोरोना कहर : छाक टार्न समस्या

बाजुरा । सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराबाट तीनवर्ष अगाडि सुर्जा केसी पति सहित काम गर्न कञ्चनपुरको महेन्द्रनगर झरीन्  ।उनले यहाँको बसपार्कमा सानो होटल व्यवसाय  सञ्चालन गरेर जिविकोपार्जन गर्र्दै आएकी थिईन् । कोरोना जोखिमले गतर्ष लकडाउन भयो । उनलाई जीवन गुजार्न समस्या भयो । 

उनी अहिले लकडाउनमा साइकलमा तरकारी बेचेर परिवारको छाक टार्दैछिन् । “भाडामा होटल सञ्चालनमा ल्याएको बर्षदिनमा कोरोनाका कारण लकडाउन हुँदा व्यवसाय प्रभावित हुँदै परिवारमै खानपिनको जोहो गर्न सकस भयो ।” उनले भनिन्“ दोस्रो लहरमा भोकै मर्नुभन्दा तरकारी बेचेर छोरा छोरी पालौं भनेर बजारका गल्ली चहार्दै छु ।”

स्थानीय प्रशासनले यहाँ दुई दिन तरकारी लगायत दैनिक उपभोग्य सामान किनबेचका लागि महेन्द्रनगर बजार खुलाउने गरेको छ भने साइकलमा घुम्ति तरकारी बेच्दा पनि प्रशासनले अनुमति दिएको छ ।चार छोरा÷छोरी र श्रीमानसहित तराइ महेन्द्रनगर पुगेकी केसीको सपना कोरोना कहरसंगै धरमराएको भान  हुन्छ ।
“ पोहोर साल लकडाउनमा दुई महिना घरको भाडा छुट भएको थियो ।” उनले भनिन्–“ अहिले दिनभरी तरकारी बेच्यो भने रु पाँच सय जति मुनाफा हुन्छ, त्यही रकमले नुनतेल चलेको छ ।”

यहाँका नदीहरुमा गरिएको बगर खेती र व्यवसायी रुपमा गाउँबस्तीमा लगाइएको तरकारी खेतीबाट उनी दैनिक रु एक हजार पाँच सय देखि रु दुई हजारसम्म तरकारी खरिद गरेर महेन्द्रनगर बजार, जानकी टोल, कटान लगायगतका क्षेत्रमा बिक्री वितरण गर्छिन ।

पश्चिमीनाका गड्डाचौकी हुँदा भारत ओहोर दोहोर गर्नेहरु यहाँको बसपार्क क्षेत्रका होटलहरुमा आश्रय लिने गरेका कारण होटल व्यवसाय सञ्चालन हुदै आएको थियो ।“ होटलमा बसोबास निःशुल्क र खानाको मात्रै पैसा लिएर सञ्चालन गरेका थियौं ।” उनले भनिन्–“ अहिले लकडाउनमा होटल बन्द भएपछि साना होटल व्यवसायी तरकारी व्यापार, खसीबोकाको कारोबार र फलफूल बिक्रीमा लागेका छन् ।”

उनले होटल भाडामा लिएको मासिक रु सात हजार तिर्न सकस भइरहेको बताईन् ।“श्रीमान अटो चलाएर दुई चार पैसा कमाउनुहुन्थ्यो, त्यो पनि बन्द भयो ।” उनले भनिन्–“ कोरोनाका त्रासदीबिच म भने स्वास्थ्य सुरक्षा अप्नाउदै तरकारी बिक्रीमा होमिएको छु ।” उनले प्रचण्ड गर्मी र कोरोनाको त्रासमा आफू साइकलमा तरकारी बिक्रीका लागि गल्ली चहार्नु आफ्नो बाध्यता रहेको सुनाईन्।

केसी त समाचारका लागि एक प्रतिनिधि पात्र मात्रै हुन । उनी जस्ती साना होटल व्यवसाय गरेर जिविका चलाइरहेका यहाँका धेरै होटल व्यवसायी विस्थापनको सङ्घारमा छन्, भने ठुला होटल व्यवसायी लाखौं आर्थिक क्षति सहन बाध्य रहेको बताइरहेका छन् ।होटल व्यवसायी संघ कञ्चनपुरका उपाध्यक्ष शुशील भट्टले कोरोना कहरले होटल व्यवसाय क्षेत्र तहसनहस भएको बताए। “ साना होटल व्यवसायीहरु ठेलामा तरकारी व्यापार गर्न थालेका छन् ।”

उनले भने“ ठुला होटल व्यवसायी पनि ऋण र लगानीका दृष्टिकोणले धेरै समस्यामा छन् ।”उनले होटल व्यवसायमा मजदुर कटौती गर्दै लैजानुपर्ने अवस्था आएको बताए ।“कोरोनाले धरासयी बनेको होटल व्यवसायको संघरक्षणका लागि सरकारले पनि सहुलियत दिनुपर्छ ”उनले भने “धेरै त घर भाडा तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस