संवैधानिक इजलासप्रति गठबन्धन सशंकित

पत्रपत्रिकाबाट

सोमबार, १७ जेठ २०७८, ०७ : ४५
संवैधानिक इजलासप्रति गठबन्धन सशंकित

काठमाडौं । संवैधानिक इजलास गठनको विषयलाई लिएर पाँच राजनीतिक दल आबद्ध गठबन्धन नेताहरू समेत सशंकित बनेका छन् । प्रारम्भिक बहसकै क्रमबाट संवैधानिक इजलासमा परेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको सहभागितालाई लिएर कानुन व्यवसायीले प्रश्न उठाएपछि आइतबार बसेको गठबन्धनको बैठकमा समेत यस विषयमा गम्भीर छलफल भएको थियो ।

गठबन्धनको पक्षमा पैरवी गर्ने वकिलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीकै सेटिङअन्तर्गत इजलास गठन भएको आशंका जनाएपछि नेताहरू समेत गम्भीर बनेका हुन् । श्रेष्ठ तत्कालीन नेकपाको एकता प्रक्रियालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला दिनेमध्येका न्यायाधीश हुन् भने केसी उक्त फैसलाउपर पुनरावलोकन नदिने न्यायाधीश हुन् । कांग्रेस सभापति शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गरेको रिट सुनुवाइका लागि गठन भएको संवैधानिक इजलासमा रहेका श्रेष्ठ र केसी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरानिकट हुन् ।

‘केही न्यायाधीशको पृष्ठभूमि र भूमिकालाई लिएर कानुन व्यवसायीले इजलासमा प्रश्न उठाएपछि यो गम्भीर विषय भयो भन्ने हामीलाई पनि लाग्यो । अदालतको विश्वसनीयता जोगाउनुपर्ने भन्दै केही साथीले बैठकमा कुरा उठाउनुभयो । तर यस विषयमा दलहरू बोल्न राम्रो हुँदैन । इजलास कस्तो हुनुपर्छ, के हुनुपर्छ भन्ने विषयमा कानुन व्यवसायीहरू नै विज्ञ हुन्, हामी विज्ञ होइनौं,’ बैठकमा सहभागी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने, ‘कानुन व्यवसायीहरूबाट कुरा आइसकेपछि बैठकमा गम्भीर छलफल हुनु स्वाभाविक नै थियो ।’ कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस