कोरोना कहरले यातायात क्षेत्र बढी प्रभावित

रासस

शुक्रबार, १४ जेठ २०७८, ११ : ५३
कोरोना कहरले यातायात क्षेत्र बढी प्रभावित

काठमाडौं । सार्वजनिक बस ५३४ वटा रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली यातायात बहुउद्देशीय कम्पनी यतिबेला कोरोना कहरबाट सबैभन्दा बढी प्रभावित छ । अघिल्लो चैतको दोस्रो साताबाट स्थानीय प्रशासनले लकडाउन गर्दा यहाँ भएका सबै बसहरु बसपार्कमा थन्क्याएको कम्पनीमा आवद्ध सयौं बस व्यवसायी बैंकको व्याज तिर्न नसक्ने अवस्थामा छन् भने बसमा चालक र सहचालक भएर जिविका चलाइरहेका मजदूरहरु अहिले अलपत्र छन् ।

महाकाली यातायात बहुउद्देशीय कम्पनीका डम्बरदत्त पन्त बस व्यवसायीहरुको अर्बौको लगानी डुब्ने अवस्थामा पुगेकोप्रति चिन्तित छन् । “ गत असोजमा पहिलो चरणको कोरोना कहर सामान्य भएपछि केही दिन सीमित बसहरु सञ्चालनमा आए”, अध्यक्ष पन्तले भने, “ त्यो बेला पनि स्वास्थ्य सर्तकता अप्नाउदै बीस प्रतिशत यात्रुले मात्रै यात्रा गरेका थिए ।”

भारतसित सीमान जोडिएको कञ्चनपुरबाट महेन्द्रनगर– नयाँ दिल्ली, महेन्द्रनगर–हरिद्धार र महेन्द्रनगर–देहरादुन रुटमा चल्ने यातायात अझ बढी चौपट भएका छन् । कोरोना नियन्त्रणका लागि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेयता यहाँबाट भारतका विभिन्न शहरहरुमा सञ्चालनमा रहेका बसहरु झण्डै २२ महिनादेखि बन्द छन् । “ महाकाली याातायातका मात्रै १९ वटा गाडी भारत चल्थे”, पन्तले भने, “ बैंकहरुले कर्जा असुली निरन्तरता दिँदा बस साहुहरु निकै तनावमा छन् ।”

महाकाली यातायातसँगै यहाँ रहेको पवनदुत र शुक्लाफाँटा यातायातको अवस्था पनि उस्तै कहालीलाग्दो छ । करिब सात सय भन्दा बढी सार्वजनिक यातायात रहेको कञ्चनपुरमा अहिले भारतबाट गड्डाचौकी नाका हुँदै स्वदेश फर्किने यात्रुहरुलाई गन्तव्यमा पु¥याउन पाँच देखि सात वटा बस सञ्चालनमा रहेको अध्यक्ष पन्तको भनाइ छ । “ भारतबाट आउनेहरुमा सङ्क्रमणको दर उच्च हुँदा हाम्रा बस मजदूरहरु बिना भ्याक्सिजन जोखिम मोलेर गन्तव्यमा पु¥याउने काममा खटिएका छन्”, उनले,“बस मजदूरहरु पनि कोरोना भ्याक्सिन लगाउनमा राज्यको प्राथमिकतामा पर्नुपर्छ ।”