आजको मौसम : नेपालमा पनि यास चक्रवातको प्रभाव, तिन दिन सम्म भारी वर्षाको अनुमान

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, ०८ : ४२
आजको मौसम : नेपालमा पनि यास चक्रवातको प्रभाव, तिन दिन सम्म भारी वर्षाको अनुमान

काठमाडौँ । बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहिबारदेखि शनिबारसम्ममा देशमा धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेकाले बाढी तथा पहिरो जान सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको छ ।

पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास समुद्रबाट जमिन तर्फ प्रवेश गरेको र उक्त चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा छ । त्यसले केही दिन नेपालको मौसममा प्रतिकुल असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सर्वसाधारण एवम् विपद व्यवस्थापनमा खट्ने सबैलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बस्ती नजिक बाढी, पहिरो, डुबान जोखिम आँकलन गरि सुरक्षाकर्मी एवम् पालिकासँगको समन्वयमा सुरक्षित स्थानमा सर्न अनुरोध गरेको छ । नदी, खोला किनार एवम् पहिरो आसपास बसोबास गर्ने बासिन्दा सतर्क अवस्थामा रहनुपर्ने प्राधिकरणले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबारदेखि शनिबारसम्म गते प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ । 

प्रतिक्रिया दिनुहोस