भरतपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको अन्येष्टिका लागि निःशुल्करुपमा दाउरा उपलब्ध गराउने

सफल खबर संवाददाता

बुधबार, ०५ जेठ २०७८, १८ : ५५
भरतपुर महानगरले कोरोनाबाट मृत्यु भएकाको अन्येष्टिका लागि निःशुल्करुपमा दाउरा उपलब्ध गराउने

चितवन । भरतपुर महानगरले कोरोनाबाट मृत्यु हुनेहरुको अन्येष्टिका लागि निःशुल्करुपमा दाउरा उपलब्ध गराउने भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार कोरोनाको संक्रमणबाट उपचारका क्रममा ज्यान गुमाउने व्यक्तिको अन्त्येष्टि कार्यका लागि दाउरा खरिदमा लाग्ने तीन हजार रुपैयाँ पनि उपलब्ध गराउने निर्णय महानगरले गरेको छ । 

उनका अनुसार भरतपुर महानगरपालिकाले गत वर्षदेखि नै कोभिड १९ बाट मृत्यु हुनेहरूको लागि शववाहनको रुपमा एक्साभेटर निः शुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । यस वर्षबाट भरतपुर महानगरपालिकाले कोभिड १९ का बिरामीहरूलाई घरबाट अस्पताल लैजान र ल्याउन २ वटा एम्बुलेन्समार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको  छ । 

चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै भरतपुर महानगरले आइसोलेसन निर्माणको कामलाई तीव्रता दिएको छ। यसैगरी भरतपुर महानगरपालिकाले शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा कोरोना संक्रमितको उपचारको लागि १५ बेडको आइसोलेसन निर्माण गरेको महानगर प्रवक्ता अरुणपीडित भण्डारीले बताए । 

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले कोरोनाको संक्रमण रोकथाम तथा संक्रमितहरुको उपचारको लागि छोटो समयमा शिवनगरमा अत्यावश्यक उपकरणसहितको आइसोलेसन तयार गर्न सफल भएको बताइन् ।  प्रमुख दाहालले भनिन्, ‘संक्रमितको उपचारमा कुनै कुराको कमी आउन दिनेछैनौँ, जसको लागि महानगरले के गर्नपर्ने हो, त्यो सबै कार्य गर्न तयार छ ।’

कोभिड १९ को रोकथाम र उपचारको लागि महानगर प्रमुख नेतृत्वमा समिति गठन गरी २९ वटै वडामा वडा अध्यक्षको संयोजकत्वमा सर्वपक्षीय समिति गठन गरिएको छ। कोरोनाका लक्षण देखिएकाहरूलाई स्वास्थ्यकर्मीको सम्पर्कमा राखिएको र आवश्यक परेका बिरामीहरूलाई घरबाटै अस्पतालसम्म ल्याउने व्यवस्था निःशुल्क रुपमा महानगरले गर्दै आएको छ । यसबाहेक भरतपुर महानगरले हरेक टोल टोलमा माइकिङ्गमार्फत सचेतना बढाउने, स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गर्नेलगायतका काम पनि गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस