कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी

सफल खबर संवाददाता

बुधबार, १३ जेठ २०८३, ०८ : ३४
कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल यसपटक विगतभन्दा चाँडो अर्थात् परीक्षा सकिएको ४५ दिनभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डले नतिजा प्रकाशनको कामलाई तीव्रता दिँदै हालसम्म ५० प्रतिशतभन्दा बढी प्रक्रिया पूरा गरिसकेको जनाएको छ। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार देशभरका ४२ केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइरहेको छ। कामलाई छिटो छरितो बनाउन उत्तरपुस्तिका परीक्षणसँगै सम्परीक्षण र प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ।

यसअघि नतिजा सार्वजनिक गर्न सामान्यतया तीन महिना लाग्ने गरेकोमा यसपटक परीक्षा सकिएकै दिनदेखि काम सुरु गरिएको थियो। बोर्डले हालै एसइईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरेर रेकर्ड बनाएको थियो। यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट ४ लाख १८ हजार परीक्षार्थी सहभागी भएका छन्।