उपप्रमुख चौधरीको कोरोना संक्रमणबाट मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, ०९ : २१
उपप्रमुख चौधरीको कोरोना संक्रमणबाट मृत्यु

राजविराज । सप्तरीको उत्तरी भेगमा रहेको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा चौधरीको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । विराटनगरस्थित विराट नर्सिङहोममा उपचाररत उहाँको अस्पतालमै मृत्यु भएको कञ्चनरुप नगरपालिका निवासी उत्तम आचार्यले बताए ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो ।  त्यसपछि एन्टिजेन परीक्षण गर्दा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले बताए । गर्भवतीसमेत रहेकी उनलाई १० दिनअघि अस्पताल भर्ना गरी आइसीयूमा राखिएको थियो ।

तीन दिनअघि मात्रै उनको पेटमा भएको बच्चा पनि मृतावस्थामा निकालिएको थियो । बच्चाका कारण पनि उनलाई थप असहज भएको स्वास्थ्यकर्मीको भनाइ छ । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो ।

मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन् । यससहित सप्तकोशीमा कोरोनाका कारण मर्नेको सङ्ख्या तीन पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस