प्रदूषित शहरको सूचीमा काठमाडौँ किन अगाडि?

पत्रपत्रिकाबाट

सोमबार, ०३ जेठ २०७८, ०७ : २३
प्रदूषित शहरको सूचीमा काठमाडौँ किन अगाडि?

काठमाडौं ।  कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौं उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन्। तर पनि काठमाडौं विश्वका १० अति प्रदूषित सहरको सूचीमा छ। यस्तो किन भएको होला ?

स्थानीय कारणसँगसँगै देशका अन्य भागमा लाग्ने डढेलो, अन्य जिल्लामा कृषिजन्य बाली खेतमा डढाउँदा निस्कने उत्सर्जनसहितको प्रदूषित हाबाको वहाब राजधानी खाल्डोमा आउँदा प्रदूषण बढ्ने गरेको मानिँदै आएको छ। यसैगरी भारत र अन्यत्रबाट समेत प्रदूषित हावा नेपाल भित्रिने गरेको विज्ञ औंल्याउँछन्।

निषेधाज्ञापछि राजधानीमा वायु प्रदूषणमा अपेक्षित सुधार नदेखिनुको कारणबारे प्रदूषणको कारक मानिएका सूक्ष्म कणको बनावट अध्ययन गरेर त्यसको उत्पत्ति कसरी र कहाँ भएको हो भन्ने पत्ता लगाएपछि मात्र खुलाउन सकिने विज्ञ तथा सरकारी अधिकारीहरू बताउँछन्।

‘अहिले पनि वायु प्रदूषण उच्च रहनुले यसमा स्थानीय भन्दा बाह्य कारण बढी जिम्मेवार रहेको प्रस्ट भएको छ,’ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशी भन्छन्।

वायु प्रदूषणको स्रोतसम्बन्धी विषयमा दक्षिण कोरियाबाट विद्यावारिधि गरेकी पाटन बहुमुखी क्याम्पस वातावरण विभागकी प्रमुख डा. शीला मास्के वैद्य अहिलेसम्म गाडी र कलकारखानबाट निस्कने उत्सर्जनमा मात्रै ध्यान केन्द्रित भएको बताउँदै थप्छिन्, ‘सही उत्तरका लागि वायु प्रदूषणका कणको बनावटको लगातार अध्ययन हुनुपर्छ।’ नागरिक दैनिकमा खबर छ ।