टाउको काटिएको दश दिनपछि जिउँदै रहेको कुखुरा

मंगलबार, २० चैत्र २०७४, ११ : ३४
टाउको काटिएको दश दिनपछि जिउँदै रहेको कुखुरा

केन्द्रीय थाइल्यान्डको रट्चबुरी प्रदेशमा एक कुखुरा टाउको काटिएको १० दिनपछि जिउँदै रहेको छ । यसलाई हाल एक भिक्षुले पालिरहेका छन् । उनले यसलाई घाँटीमा सिरिन्जमा लगाएर खाना ख्वाइरहेका छन् ।
टाउकोविहीन कुखुरा पहिलो पटक अघिल्लो हप्ता समाचारमा छायो, जब समाजिक सञ्जालमा यसको फोटो र भिडियो भाइरल भएको थियो । भारइल भए पनि कमैले यसमा विश्वास गरेको देखिन्थ्यो । समाजिक सञ्जालमा यो भिडियोलाई धेरैले ‘फेक’ भएको प्रतिक्रिया दिएका थिए ।

फेसबुक प्रयोगकर्ता नुपोङ्ग थिथाम्मो पहिलो पटक कुखुराको फोटोसहित यसको बारेमा लेखेका थिए । नुपोङ्गले फेसबुकमा रट्चबुरी प्रदेशका एक भेटनरीले यसको ख्याल गरिरहेको र घाँटीमा सिरिन्ज राखेर खाना खुवाइरहेको लेखेका थिए । साथै उनले सो पोस्टमा कुखुराको काटिएको ठाउँमा सङ्क्रमण हुन नदिन एन्टिबायोटिक दिइरहेको लेखेका थिए ।

“कुखुरा जीवित छ । यदि यो बाँच्न चाहन्छ भने यसलाई खुवाइरहनेछौं ।” सुरुमा शिरविहीन कुखुरालाई पालिरहेका भेटनरियनले थाई रिपोर्टरलाई भनेका थिए ।

कुखुराको टाउको कसरी काटियो भने जानकारी पाइएको छैन तर यसलाई ठूलो जीवले टाउको लुछेको जस्तो देखिन्छ ।

टाउको जसरी काटिएको भए पनि यस्तो अवस्थामा कुखुरा मर्नुपथ्र्यो तर कुखुरो मर्न तयार देखिँदैन ।

यो कुखुरा जीवित मात्र होइन, उभिन सक्छ र दिशाहीन रूपमा यताउता हिँडिरहेको छ ।

सुरुमा धेरैले यसलाई हल्लाका रूपमा लिए र सामाजिक सञ्जालमा आएको कुखुराको फोटोलाई फोटोसप माने । त्यसपछि कुखुराको एक भिडियो आयो जुन इन्टरनेटमा भाइरल भयो । त्यसपछि यसबारेमा समाचार छापिन थाल्यो । पश्चिमा मिडियाहरूले पनि यसबारे समाचार दिन थाले ।

विश्वास नगर्नुहोला तर टाउको बिना बाँचेको यो पहिलो कुखुरा होइन । माइक नामक एक कुखुरा १९४५ र १९४७ बीच १८ महिना टाउको बिना बाँचेको थियो । त्यसबेला पनि मिडियामा खबर आउँदा यसलाई झुटो खबर मानिएको थियो । पछि खबरलाई पुष्टि गर्न मालिकले कुखुरा बोकेर उताह विश्वविद्यालय गएका थिए ।

यी विरलैको घटना कुखुराको पृथक बनावटसँग सम्बन्धित छ । कुखुराको दिमाग तिनको टाउकोको कोणमा हुन्छ, त्यसैले यदि तिनको घाटीको माथिलो भाग काटिएमा दिमागको पछिल्लो भाग जसले शरीरको स्वास प्रस्वासजस्ता क्रियालाई नियन्त्रण गर्छ, त्यो यथावत रहन सक्छ । त्यस्तो अवस्थामा कुखुराको मृत्यु हुने गरी रक्तश्राव रोक्न सके कुखुरा बाँच्छ ।

शिरविहीन कुखुरा तत्कालै नमर्ने भएपछि कुखुरा मालिक भेटनरी सुपाकादी अरुन थोङ्गलाई अब के गर्ने भन्ने परेको थियो ।

रिपोर्टरसँग कुरा गर्दै उनले भनिकी थिइन्, “यसलाई अब कसले हेर्छ ? यसलाई अब जीवनभरको हेरचाह आवश्यक पर्छ । तर यो  दह्रो मुटु भएको कुखुरा हो भनेर चाहिँ मान्नुपर्छ ।”

भाग्यवश रट्चबुरी प्रदेशको एक मन्दिरका भिक्षुहरूले खुसीसाथ यसलाई लिएका छन् । रिपोर्ट अनुसार तिनीहरूले खाना र पानी सिरिन्जको सहायताले खुवाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस