नयाँ सरकार निर्माणका लागि काँग्रेसले राष्ट्रपतिसमक्ष दाबी पेस गर्दै

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, ११ : ५१
नयाँ सरकार निर्माणका लागि काँग्रेसले राष्ट्रपतिसमक्ष  दाबी  पेस गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार निर्माणको लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । देउवाले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले  जानकारी दिए ।

उनले भने, ‘बहुमतको सरकारका लागि आज दाबी गर्न जान्छौँ । त्यसको तयारी भइरहेको छ । बहुमतको जोडघटाउका लागि विभिन्न तहमा विभिन्न नेताहरुसँग छलफल पनि जारी छ ।’ देउवाले तीन दलको छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, नेता ज्ञानेन्द्र कार्की र रमेश लेखकलाई खटाइएको बुझिएको छ ।

मंगलबार महन्थ ठाकुरसँग खाण र कार्कीले छलफल गरेका थिए । ठाकुरका सम्धी उमाकान्त झाको निवासमा उनीहरुबीच छलफल भएको थियो । देउवाले आन्तरिक र बाह्य परिस्थिति आफू अनुकुल बनाउन सोमबार यता आफूनिकट नेताहरुलाई छलफलका लागि परिचालन गरिरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दिए ।

देउवा आफैंले पनि प्रधानमन्त्री केपी ओली इत्तर पक्षका शीर्ष नेतासँग छलफल गरिरहेका छन् । मंगलबार काँग्रेस सभापति देउवाले विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

काँग्रेस नेता रमेश लेखकका अनुसार संविधानको धारा ७६ को २ अनुसार सरकार निर्माणका सन्दर्भमा देउवा निवास बूढानीलकण्ठमा मंगलबार विहान देउवा, प्रचण्ड र उपेन्द्र यादवबीच छलफल भएको थियो ।

उनीहरुबीचको छलफलपछि दिउँसो ३ बजे बसेको काँग्रेस पदाधिकारी बैठकले ७६ को २ बमोजिम सरकारको दाबी गर्ने निर्णय भएको छ ।

देउवाले मंगलबार राति नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षसँग पनि छलफल गरेका थिए । देउवासँग छलफल गर्न माधवकुमार नेपाल र भीम रावल बूढानीलकण्ठ पुगेका थिए । उनीहरुले बहुमतको सरकार निर्माणका लागि सहजता प्रदान गर्न आफूहरु तयार रहेको आश्वासन देउवालाई दिएका थिए । त्यसयता पनि देउवाले शीर्ष नेतासँग टेलिफोन संवाद जारी राखेका देउवाको सचिवालयले जनाएको छ ।

देउवाले जसपाको ठाकुुर–महतो पक्षसँग गठबन्धनको सरकार निर्माणका लागि सहमति खोज्ने कुरामा प्राथमिकता दिएका छन् । त्यसका लागि महामन्त्री खड्काले जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग संवाद जारी राखेका छन् ।

बुधबार पनि खड्का र भट्टराई टेलिफोन संवाद भएको थियो । त्यसपछि भट्टराईको अग्रसरतामा जसपा पदाधिकारी बैठकमा सत्ता समीकरणबारे छलफल भएको थियो । आज पार्टीभित्र थप छलफल गरेर एकीकृत निर्णय दिने उनको भनाइ छ ।

छलफलपछि बहुमतको सरकार निर्माणका लागि ठाकुर केही सकारात्मक भएको काँग्रेस नेताहरुको भनाइ छ । बुधबार प्रधानमन्त्री ओली र  राष्ट्रपति भण्डारीलाई बहुमतको सरकार गठनको विपक्षमा जनाउ दिएका ठाकुरले काँग्रेस नेतासँग छलफलमा आफ्ना माग सम्बोधनको ग्यारेन्टी भए सोच्न सकिने जवाफ दिएका थिए ।

सत्ता समीकरणबारे पार्टी बैठकमा छलफल गर्न समेत अरुचि देखाउँदै आएका ठाकुरले बुधबारमा केही नरम देखिएको जसपा स्रोत बताउँछ ।

विपक्षी दलका नेतासँग काँग्रेस नेताहरु नियमित संवादमै रहेको बुझिएको छ । चार पार्टीका नेताबीच आज भेटवार्ता हुने भएको छ । अहिलेसम्म ठाउँ भने तय भइनसकेको काँग्रेस स्रोतले जनायो ।

प्रतिक्रिया दिनुहोस