काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बहुलवादी लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै फरक राजनीतिक दृष्टिकोणलाई सम्मान गर्ने बताएका छन् ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माण सबै राजनीतिक शक्तिको साझा लक्ष्य भएको बताए ।
उनका अनुसार आर्थिक वृद्धि, रोजगारी विस्तार, प्रतिव्यक्ति आय वृद्धि, सामाजिक न्याय र अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिजस्ता विषयमा व्यापक सहमति भए पनि ती उद्देश्य हासिल गर्ने कार्यदिशामा भने मतभेद स्वाभाविक रहेको छ ।
अर्थमन्त्री वाग्लेले पछिल्ला तीन दशकको शासकीय अभ्यास, नीतिगत संरचना र राजनीतिक संस्कारप्रति जनस्तरमा असन्तुष्टि बढेकै कारण राजनीतिक तथा सामाजिक रूपान्तरणको माग तीव्र बनेको उल्लेख गरे । उनले विगतको कुशासनले राज्य व्यवस्था, अर्थतन्त्र र नागरिक जीवनमा ठुलो प्रभाव पारेको टिप्पणी गर्दै सरकार सुधारमुखी एजेन्डासहित अघि बढेको बताए ।
उनले सुशासन, संस्थागत सुधार र प्रशासनिक थिति बसाल्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको दाबी गरे । निर्वाचनअघि सार्वजनिक गरिएको ‘रूपान्तरणका सय आधार’ नामक प्रतिबद्धता पत्र, त्यसपछि ल्याइएको शासकीय सुधार मार्गचित्र तथा वर्तमान नीति तथा कार्यक्रम सोही दृष्टिकोणअनुसार तयार गरिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, १७ : ४२
लेखकबाट थप