इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'

सफल खबर संवाददाता

सोमबार, ०४ जेठ २०८३, ०८ : १६
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले 'समय घर्किँदै गएको' भन्दै इरानलाई कडा चेतावनी दिएका छन्। युद्ध अन्त्यका लागि भइरहेको शान्ति वार्तामा गतिरोध उत्पन्न भएपछि ट्रम्पले इरानलाई छिटो कदम चाल्न दबाब दिएका हुन्।

आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा ट्रम्पले लेखेका छन्, 'उनीहरू छिटो अघि बढ्नु राम्रो हुन्छ, अन्यथा उनीहरूको केही पनि बाँकी रहने छैन। समय निकै महत्वपूर्ण छ !' राष्ट्रपति ट्रम्पले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग टेलिफोन वार्ता गर्नुअघि यो चेतावनी दिएका हुन्।

यसअघि ट्रम्पले युद्ध अन्त्यका लागि इरानले राखेको पछिल्लो जवाफी प्रस्तावलाई फोहोरको संज्ञा दिँदै अस्वीकार गरेका थिए। ट्रम्पले इरानसँगको युद्धविराम हाल भेन्टिलेटरमा रहेको भन्दै तेहरानका मागहरू पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन्।

यता, इरानी सञ्चारमाध्यमहरूले भने अमेरिकाले तेहरानको प्रस्तावमा कुनै ठोस सहुलियत वा सम्झौता नगरेको टिप्पणी गरेका छन्। इरानको अर्ध-सरकारी समाचार एजेन्सी 'मेहर'का अनुसार वासिङ्टनले लचकता नदेखाएमा जारी वार्ता गतिरोधतर्फ धकेलिने सम्भावना छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले आफूहरूले अघि सारेका सर्तहरू 'जिम्मेवार' र 'उदार' रहेको दाबी गरेका छन्।

इरानको मागमा सबै मोर्चामा युद्धको तत्काल अन्त्य, लेबनानमा हिजबुल्लाह विरुद्ध भइरहेका इजरायली आक्रमणको अन्त्य, इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसेनाको नाकाबन्दी हटाउनुपर्ने र भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी समावेश छन्। साथै, इरानले युद्धबाट भएको क्षतिको क्षतिपूर्ति र हर्मुज जलसन्धिमा आफ्नो सार्वभौमसत्ताको माग समेत गरेको छ।

जवाफमा अमेरिकाले इरानलाई एउटा मात्र आणविक केन्द्र सञ्चालन गर्न र संवर्धित युरेनियमको सबै भण्डार अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने सर्त राखेको समाचार एजेन्सी 'फर्स'ले जनाएको छ।

प्रतिक्रिया दिनुहोस