कोरोना संक्रमणले लियो एकै परिवारका ४ जनाको ज्यान

पत्रपत्रिकाबाट

शनिबार, २५ बैशाख २०७८, ०७ : ५६
कोरोना संक्रमणले लियो एकै परिवारका ४ जनाको ज्यान

नेपालगन्ज । कोरोना भाइरस संक्रमणका कारण नेपालगन्जमा एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी एक बहिनी र दुई दाइको मृत्यु भएको हो ।  नेपालगन्ज–३ सुनारमन्दी टोलका ४२ वर्षीय जाहिरको बुधबार बेलुका ७ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यही अस्पतालमा उनका राइँलो दाइ एजाजको बिहीबार बेलुकी ७ बजे र काइँलो दाइ इम्तियाजको शुक्रबार बिहान साढे १० बजे ज्यान गएको हो । ‘हट्टाकट्टा थिए, अचानक बिरामी भएर अस्पताल गएका थिए, फर्केनन्,’ छिमेकी हज शकिलले भने ।

उनका अनुसार सात दाजुभाइ सबै संयुक्त परिवारमा बस्दै आएका थिए । परिवारमा अन्य पनि संक्रमित छन् । तीमध्ये कोही घरमै आइसोलेसनमा र केही अस्पतालमा उपचाररत छन् । घरमा उनीहरूकी वृद्ध आमा छिन् । जाहिरकी बहिनीको भने भारतको रुपैडियामा कोरोना संक्रमणले मृत्यु भएको हो । उनको भारतमा बिहे भएको थियो ।

सन् १९९७ मा सिंगापुरमा आयोजना भएको एसीसी यू–१९ कपमा नेपालले सहभागी हुन जाँदा जाहिर १८ सदस्यीय टोलीमा थिए । उनी १४ सदस्यीय नेपाली टोलीमा पर्न भने सकेनन् । पछिल्लो समय उनी लुम्बिनी प्रदेशको क्रिकेट छनोट समितिमा थिए ।

नेपालगन्जका भारोत्तोलन प्रशिक्षक तथा अन्तर्राष्ट्रिय भारोत्तोलक शकिल अहमदको पनि बिहीबार संक्रमणले नै ज्यान लिएको छ । उनको नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो । उनले सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो दक्षिण एसियाली खेलकुद र १९९० मा चीनमा भएको एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरेका थिए । उनले एक महिना रुसको मस्कोमा विशेष प्रशिक्षणसमेत लिएका थिए । कान्तिपुर दैनिकमा खबर छ 

प्रतिक्रिया दिनुहोस