प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा उभिए राजेन्द्र महतो

सफल खबर संवाददाता

शुक्रबार, २४ बैशाख २०७८, १६ : २७
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा उभिए राजेन्द्र महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतो अचानक प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा देखिएका छन् । महतो महन्थ ठाकुर पक्षका थिए, जसबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउने आशा थियो । प्रधानमन्त्री ओलीलाई जसपाबाट विश्वासको मत पाउने आधार घट्दै गएको छ । 

संसदको अंकगणितमा निर्णायक देखिएको जनता समाजवादी पार्टीका नेताहरु यतिबेला चरम विभाजितमा छन् । जसपाका डा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका नेताहरुले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेका छन् । जसपाका महन्थ ठाकुर र राजेन्द्र महतो ओलीलाई विश्वासकको मत दिने पक्षमा थिए । तर अचानक राजेन्द्र महतो ओलीलाई विश्वासको मत नदिने पक्षमा उभिए ।  

अध्यक्ष महन्थ ठाकुरको पक्षमा रहेका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन राजी भएका स्रोतको भनाइ छ । महतो पार्टीले राखेका माग पूरा गरेमा सरकारलाई समर्थन दिने पक्षमा उभिने बताइरहेका थिए । नेता महतोले सरकारले सबै माग पूरा नगरेको भन्दै विश्वासको मत दिन नसकिने कित्तामा आफू उभिएको बताउन थालेका छन् । 

महतो उपेन्द्र यादव र डा बाबुराम भट्टराईतर्फ ढल्के पछि जसपामा अध्यक्ष महन्थ ठाकुर अल्पमतमा परेका छन् । जसपासँग ३२ सांसद रहेका छन् । जसपाले मत नदिएमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पुग्दैन ।